मकवानपुरका वाईबा र्याप संगीतमा चम्कँदै

तु खबर संवाददाता
२०७९ असार १४,मंगलवार १०:०८

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ सयपत्रीमा जन्मिएका सरोज वाईबा अचेल र्याप हसलमा व्यस्त छन् । उनकै मेहनतले उनलाई एक सफल कलाकारका रुपमा दर्शक श्रोतामाझ उभ्याएको छ ।

केही समययता सरोज र्याप कोर्न र गाउन समय खर्चन्छन् । केही समयअघि सरोज लगातार २ वर्ष अस्वस्थ भए । चेकजाँचपश्चात चिकित्सकको सल्लाहअनुसार सरोज घरमै आराम गरेर बसे । सरोज प्रतिकूल स्वास्थ्यका कारण घरमै थन्किए ।

सरोज आफूलाई दिक्क लाग्दा गीत सुनेर मन भुलाउँथे । उनी प्रायः भिटेन र यमबुद्धलाई सुन्दै कयौं र्याप कोर्दै समयको सदुपयोग गर्थे । सरोजले चर्चित रियालिटी शो ‘एएनटीएफ’ र ‘नेपहपको श्रीपेच’ का लागि अडिसनको तयारी नगरेका होइनन् । तर, प्रतिकूल स्वास्थ्यका कारण उनी त्यहाँ सहभागी हुन सकेनन् ।

८ कक्षासम्मको अध्ययन सकाएका सरोज बिरामी हुनुपूर्व लागुऔषध कुलत र गलत संगतमा रहेको उनकी दिदी ममता बताउँछिन् । सरोजकी दिदी भन्छिन्–‘‘बिरामी नभएको भए बिग्रेर हिँड्थ्यो होला वा केही बन्थ्यो होला ।’’ तर, सरोज अहिले कुनै कुलत र गलत संगतमा छैनन् । बरु उनी लगातार र्याप गीत कोर्न व्यस्त छन् । सरोजले हालसम्म कयौं र्याप गीत कोरिसकेका छन् ।

सरोजले आफुले कोरेका र्याप गीतमध्ये २ वटा र्याप एनएमआई प्रोडक्सन हेटौंडामा रेकर्डिङ गरिसकेका छन् । जसमा सरोजको ‘सावधान’ र ‘ठग जिन्दगी’ बोलका २ र्याप उनको आफ्नै युट्युब च्यानल ‘ठग म्युजिक’ मार्फत सार्वजनिक भइसकेका छन् ।

सरोजले ‘सावधान’ ४ महिनाअघि सार्वजनिक गरेका थिए भने ‘ठग जिन्दगी’ गत सोमबार सार्वजनिक गरेका हुन् । सरोजकोे शब्दले उनको आफ्नो भोगाइको प्रतिनिधित्व गरेको र्यापमा स्पष्ट हुन्छ । सरोजको ‘सावधान’ र्यापले चेलिबेटीमाथि गलत धारणा राख्ने र व्यवहार गर्ने पुरुषलाई सावधान भनेको छ । सरोजको ‘ठग जिन्दगी’ र्यापमा आफूले परिवारको पेट पाल्न दिनभर गरेको काम र जिन्दगीबीचको संघर्षलाई समेटिएको छ ।

सरोज आफूलाई बिरामी हुनुपूर्व संगीतमा खासै चासो नरहेको भएतापनि अहिले भने र्याप नै आफ्नो जीवनको एक हिस्सा बनेको उनी बताउँछन् । सरोज थप्छन्–‘‘परिवारको साथले म यहाँ उभिएको छु । १८ वर्षसम्म स्वस्थ्य हुँदा बुझ्न नसकेको परिवारको महत्व २ वर्ष बिरामी हुँदा सबै बुझें ।’’ सरोज हाल २३ वर्षका भए । र्यापबाट आफूलाई परिचित गर्ने सरोजको सपना छ ।