विरोध खतिवडालाई शहरी मन्त्रालयको जिम्मा दिने एकीकृत समाजवादीको निर्णय

तु खबर संवाददाता
२०७८ आश्विन २२, शुक्रबार १०:२७
file-photo

मकवानपुर । नेकपा एकीकृत समाजवादीले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम र मन्त्रालय टुंगो लगाएको छ । आज (शुक्रबार) बिहान बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालय टुंगो लगाएको एक नेताले जानकारी दिए ।

सरकारमा सहभागी हुन एकीकृत समाजवादीले पाएको चार मन्त्रालयमा आजै बिहान बसेको पार्टी सचिवालयको बैठकले पार्टीका केन्द्रीय सदस्य एवम् मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद् विरोध खतिवडालाई शहरी विकास मन्त्रालयको जिम्मा दिने सहमति गरेको छ । यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी रामकुमारी झाँक्री, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मा प्रेम आले र श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी किसान श्रेष्ठलाई दिने सहमति भएको जनाएको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादी सांसद भवानीप्रसाद खापुङले राज्यमन्त्री अस्वीकार गर्ने भएका छन् । एकीकृत समाजवादीले गठबन्धनको भागबण्डा मिलाउँदा चार मन्त्रालय मात्र पाउने भएपछि खापुङलाई राज्यमन्त्री बनाउने तयारी थियो । तर, खापुङले राज्यमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकारको चेतावनी दिएको एक नेताले बताए । एकीकृत समाजवादीले सरकारमा सहभागी हुने राज्यमन्त्रीको भने टुंयो लगाएको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । गत असार २९ मा सरकारको नेतृत्व सम्हालेका देउवाले झण्डै तीन महिनामा आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । उनले यसअघि पटक–पटक गरी पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेर सरकार चलाएका थिए ।