राष्ट्रियसभामा झाँक्रीको प्रश्न : भदौ २४ गतेको घटनाको छानबिन गर्ने काममा किन ढिलाई

तु खबर संवाददाता
२०८२ चैत्र २३, सोमबार १४:५९

नेकपा एमाले राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाँक्रीले भदौ २४ गतेको घटनाको छानबिन गर्ने काममा किन ढिलाई भएको हो भनेर प्रश्न गरेकी छिन् । राष्ट्रिय सभा बैठकमा उनले २४ गते जलाइएका सिंहदरबारलगायत घटनाको सत्यतथ्य बाहिर ल्याउने काममा ढिलाइ भइरहेको भन्दै यसको निश्पक्ष छानबिन गर्न माग गरेकी छिन् ।

भदौं २४ को घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ र घटनाबारे प्रतिवेदन कहिले आउँछ, उनले भनिन् । घटनाको तथ्य सार्वजनिक गर्न उनले माग राखेकी छिन् ।

गत भदौ २४ गते जेन जी आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायतका सयौं सरकारी संरचनाहरुमा आगो लगाइएको थियो ।

सरकारले गठन गरेको छानबिन समितिले २३ गतेको विद्यार्थीहरुमाथि गोली चलाएको घटनामा मात्र केन्द्रीत भई तत्कालिन प्रधानमन्त्री, गृहमन्त्री लगायतकालाई दोषी ठहर्याउँदै कारवाहीका लागि सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा सरकारको निर्देशनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो ।

राष्ट्रियसभामा केही प्रश्नहरु छोड्नुपर्ने बताउँदै झाँक्रीले सबै ठिकठाक थियो कि थिएन र सबै खराब थिए कि थिएनन् भन्ने बारे चर्चा आवश्यक रहेको बताएकी छिन् ।

कुनै पनि सत्ताको विरुद्ध नागरिकलाई शान्तिपूर्ण रुपमा विरोध गर्ने अधिकार रहन्छ, तर भदौं २३ र २४ को घटनाको उत्तर कसले खोज्ने, उनले प्रश्न गरिन् । नवयुवालाई यो ढंगले कसले प्रयोग गर्यो, यसको जवाफ राष्ट्रियसभाले खोज्नेछ, उनले भनिन् ।