विरोध खतिवडाको आग्रहपछि खड्का रिहा

तु खबर संवाददाता
२०७९ कार्तिक २४,बिहीबार ०८:२२

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश सभातर्फ लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरी हिरोसतमा रहेका हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ का पुरुषोत्तम खड्का रिहा भएका छन् ।

एकीकृत समाजवादीका नेता खतिवडाले आफुलाई दुर्व्यवहार प्रयास गर्नेलाई छाडिदिन गरेको आग्रहअनुसार प्रहरीले उनलाई रिहा गरेको हो ।पूर्वस्वास्थ्य तथा जनसख्यामन्त्री समेत रहेका खतिवडालाई मंगलबार मकवानपुरको मनहरी गाउँपालिका–४ मा चुनावी सभामा गएका बेला मादक पदार्थ सेवन गरेका खड्काले दुर्व्यवहार गरेका थिए ।

आफुलाई दुर्व्यवहार गरेपछि प्रहरीको नियन्त्रणमा रहेका खड्कालाई कुनै कारबाही नगरी रिहा गरिदिन उम्मेदवार खतिवडाले बुधवार मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमलाई आग्रह गरेका थिए ।

खतिवडाको आग्रहबमोजिम आफन्तको जिम्मा लगाई खड्कालाई छाडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।