सरकारलाई असफल पार्न संसदमा नाराबाजीको नाटक : खतिवडा
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवम् प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले नेकपा एमालेले सरकारलाई असफल पार्नका लागि संसदमा नाराबाजीको नाटक मञ्चन गरेको आरोप लगाएका छन् । शनिबार हेटौंडामा आयोजित शपथ ग्रहण तथा एकीकृत समाजवादी मकवानपुरको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै नेता खतिवडाले सो कुरा बताएका हुन् ।
उनले बारम्बार संसद्को हत्या गर्नेहरुले संसदीय सर्वोच्चता कायम गर भन्ने नारा लगाएको देख्दा आश्चर्य लागेको बताए । उनले संसद्को रक्षाका लागि सडकदेखि अदालतसम्म पुगेर लड्नेले गरेकोचाहीं संसदीय मर्यादा विपरित हुने अनि संसद्को हत्याराले गरेको नाराबाजीचाहीं कसरी मर्यादित भयो भन्ने प्रश्न गरे ।
कम्युनिष्टका नेता मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलालले व्यक्तिवाद नसिकाएको भन्दै ओलीको व्यक्तिवादी सोच र सिद्धान्तका कारण एमालेको भविष्य नै संकटमा परेको उनले बताए । केपी ओलीलाई कटाक्ष गर्दै नेता खतिवडाले भने ‘देशको ढुकुटीमा मुख गाड्न पल्केका मुसाहरु बिरालो गएर बसेपछि भागाभाग भएका छन् ।’
