परिवार दलका अध्यक्ष ढकालले दिए संविधान दिवसको शुभकामना
नेपाल परिवार दलले छैटौँ संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना दिएको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले आज आम नेपालीहरुमा शुभकामना दिँदै संविधान अनुसार बन्नुपर्ने कतिपय संरचनाको निर्माण र संविधान कार्यान्वयनका कतिपय काम बाँकी रहेको भएपनि आजको दिनले यसको पूर्ण कार्यान्वयन गर्न सबैलाई प्रेरणा मिल्ने बताएका छन् ।
अध्यक्ष ढकालले संविधान एक गतिशील दस्तावेज भएकोले कतिपय असन्तुष्टिहरुलाई संविधानभित्रै रहेर सम्बोधन गर्न र यसलाई थप परिष्कृत गर्न सकिनेतर्फ सबै पक्षको ध्यान जानुपर्ने बताए ।
अध्यक्ष ढकालले नेपालको इतिहासमा पहिलो पटक संविधानसभाबाट संविधान जारी गर्ने लामो समयदेखिको जनाकाङ्क्षा पूरा गर्न भएका विभिन्न कालखण्डका जनान्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनमा शहादत प्राप्त गर्ने शहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता नेपाली जनताले प्राप्त गरेका उपलब्धि संस्थागत गनुपर्ने आवश्यकता अझै बाँकि रहको बताए ।
संविधानको कार्यान्वयनमार्फत नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न सकिने परिवार दलको बुझाई रहेको छ ।
