चुनावी तालमेलको लागि एमाले र परिवार दलबीच छलफल जारी

तु खबर संवाददाता
२०७९ बैशाख ६, मंगलवार ०८:५५

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाल परिवार दल मकवानपुरले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ । परिवार दल मकवानपुरका अध्यक्ष हरिबहादुर लोप्चन र एमाले अध्यक्ष एकलाल श्रेष्ठबीच भएको छलफलमा परिवार दलले मकवानपुरमा ३ वडामा १/१ जना वडा सदस्य माग गरेको छ । ।

दलले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, मनहरी गाउँपालिका वडा नम्वर ६ र कैलाश गाउँपालिका वडा नम्वर ८ मा वडा सदस्य माग गरेको हो । जसमा कैलाश ८ बाट दलका जिल्ला अध्यक्ष हरिबहादुर लोप्चनको नाम वडा सदस्यमा एमालेको वडा कमिटीले नै समावेश गर्दै सिफारिस गरिसकेको छ । मनहरी ६ मा पनि वडा सदस्य दिन एमाले तयार रहेको बुझिएको छ । हेटौंडा–१० मा पनि सदस्य पद माग गरेको सन्दर्भमा भने अहिले नै भन्न नसकिने एमालेले जनाएको छ ।  पार्टीभित्र थप छलफल गर्नुपर्ने भएकोले केही दिन भित्रै यस विषयमा टुंगो लगाइने एमालेले जनाएको छ ।

परिवार दलका अध्यक्ष लोप्चनले छलफल सकारात्मक नै भइरहेको बताएका छन् । उनले एमालेले आफुहरुको माग बमोजिम ३ वटै वडा सदस्य दिनुपर्ने बताए । ‘यी तीन वडाहरुमा हाम्रो राम्रो पक्कड भएकोले हामीले वडा सदस्य दावी गरेका हौँ । उहाँहरुबाट सकारात्मक नै प्रतिक्रिया आएको छ । हामी आशावादी छौँ । यदि एमालेले बेवास्था गरेको खण्डमा  बैकल्पिक बाटो तय गर्नुपर्ने अवस्था पनि आउनसक्छ ।’ अध्यक्ष लोप्चनले भने ।