नेपाल परिवार दलको राष्ट्रिय महाधिवेशन कार्तिक २८–२९ गते हुने
काठमाडौँ । नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन कार्तिक २८ र २९ गते हुने भएको छ ।
दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा सोमबार बसेको बैठकले तेश्रो राष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो ।
त्यसैगरी बैठकले दलको विद्यान संसोधनको शिफारिस गर्न अधिवक्ता दयाराम कंडेलको संयोजकत्वमा केन्द्रिय सदस्यहरु गणेश कुमार श्रेष्ठ, गोविन्दनाथ मिश्र, सभासद मिलन कुमारी राजवंशी र अधिवक्ता राजेश कुमार बिष्ट सम्मिलित समितिसमेत गठन गरेको
छ ।
त्यसैगरी दलका महामन्त्री बिनोद डाँगीको संयोजकत्वमा सबै प्रदेश संयोजक सदस्य रहने गरी प्रदेश तथा स्थानीय क्षेत्रमा संयोजक तोक्न शिफारिस समिति पनि गठन गरिएको दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिएका छन् ।
परिवार दलको ५० हजार क्रियाशील सदस्यहरुको प्रतिनिधित्व गर्दै २ हजार ५ सय प्रतिनिधिले महाधिवेशनमा भौतिक रुपमा र अनलाइनको माध्ययमवाट सहभागिता जनाउने महामन्त्री डाँगीले बताए । बैठकमा महाधिवेशनमा प्रयोग गरिने डिजिटल प्रविधिको प्रस्तुतिसमेत गरिएको थियो ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अन्य पार्टीसंग विभिन्न विषयमा सहकार्य गर्दा धोका खानु परेको बताउँदै आगामी निर्वाचनमा नेपाल परिवार दल स्वतन्त्र ढंगले शशक्त रुपमा सहभागि हुनेसमेत बताए ।
ढकालले नेपालमा बैकल्पिक लोकतान्त्रिक शक्तिको आवश्यकता रहेको बताउँदै आगामी दिनमा देशका बहुमत जनतालाई परिवार दलसंग जोड्न बिशेष कार्यक्रम पार्टीले तर्जूम गर्ने बताए । नेता ढकालले देशका ठुला भनिएका पार्टीहरुले जनादेशको अपमान गरेको भन्दै अब जनताहरुले विकल्प खोज्ने जिकिर गरे ।
बैठकले दलको केन्द्रिय सदस्यमा कैलालीकी बिष्णु कुमारी बिश्वकर्मा, दैलेखका पूर्णप्रसाद कोइराला, काठमाडौँका केशव श्रेष्ठ लम्जुङ्का टिकाराज बिश्वकर्मा र कैलालीका शंकर ढकाललाई मनोनित गरेको छ भने पिस फोर्सको केन्द्रिय अध्यक्षमा रामेछापका रबिन्द्र चौलागाईंलाई जिम्मेवारी दिएको छ ।
बैठकमा केन्द्रिय सदस्यहरु मनोजलाल कर्ण, अब्दुल कैयुम शाह, सन्त बहादुर पन्त, राजेश कुमार बिष्ट, प्रकाश बाबु थापा, नविन बजगाईं, बुद्धिमाया पुन, रामचन्द्र चौधरी, अनिल भण्डारी, गणेश कुमार श्रेष्ठ, लक्ष्मी भण्डारी, बिजय राज कट्टेल, शिबकृष्ण श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
केन्द्रिय सल्लाहाकारहरु केशव चौलागाईं, प्राध्यापक नारायण शर्मा गजुरेल, पूर्व एआईजी प्रकाश कुँबर, पूर्व एसएसपी सुरेश कुमार केसी लगायतले परिवार दलको भबिष्य राम्रो रहेको भन्दै जनताको भावनाको प्रतिबिम्बित हुने कार्यक्रम ल्याउन दललाई सुझावसमेत दिए ।

