‘राष्ट्रिय समस्याको समाधान र देश विकास गर्नको लागि ओलीको नेतृत्व आवश्यक’

तु खबर संवाददाता
२०७९ मंसिर १, बिहीबार ०८:१८

चितवन । नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले राष्ट्रिय समस्याको समाधान र देश विकास गर्नको लागि नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको आवश्यक रहेको बताएका छन् ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसार कार्यक्रम अन्तरगत बुधबार परिवार दलद्वारा चितवनमा ‘नेपाल परिवार दलको आव्हान : सूर्यमा मतदान’ र ‘मंसिर ४ ओेली सरकार’ भन्ने मुल नाराको साथ आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता ढकालले एमाले र केपी ओलीको हाराहारीमा अर्को दल र नेता नरहेको उल्लेख गरे । अध्यक्ष ढकालले परमादेशको सरकारबाट देशलाई मुक्त गरी संमृद्धिको अभियान अघि बढाउँन केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले चितवनका मतदातालाई संमृद्धिको अभियानको नेतृत्व गर्न सक्ने पार्टी र पात्र एमाले र केपी ओली भएको तर्क गर्दै सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे । ढकालले परिवार दलले संसदमा राष्ट्रिय मेलमिलाप र दिगो शान्तिको आवाज बुलन्द बनाउने बताए ।

नेपाल परिवार दलका चितवन जिल्ला अध्यक्ष धर्म प्रसाद ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा ऐमालेका पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला ईन्चार्ज तथा चितवन क्षेत्र नं. २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार देवी प्रसाद ज्ञवाली, नेकपा एमाले केन्द्रीय स्कुल विभाग सदस्य तथा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार पुरुषोत्तम न्यौपाने, परिवार दलका महामन्त्री प्रकाश बाबु थापाले आ–आफ्नो मनतव्य व्यक्त गरेका थिए ।