उम्मेदवारबाट मतदाताले पैसा लिएमा ५० हजार जरिवाना र जेल सजाय हुने

तु खबर संवाददाता
२०८२ फाल्गुन १८, सोमबार १८:३४

काठमाडौं । निर्वाचन आयोगले मतदातालाई राजनीतिक दलका प्रतिनिधि वा उम्मेदवारबाट उपहार, पुरस्कार, नगद वा जिन्सी सामग्री लिन नपाइने चेतावनी दिएको छ।

आयोगका अनुसार मतदानको अधिकार प्रयोग गरेबापत कुनै किसिमको बकस, इनाम वा सार्वजनिक भोजमा सहभागी हुनु पनि कानूनविपरीत हुनेछ। यस प्रकारका गतिविधिमा संलग्न मतदातालाई ५० हजार रुपैयाँ जरिवाना, ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजायको प्रावधान रहेको आयोगले जनाएको छ।

यसैबीच,निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिताको प्रभावकारी पालनामा जोड दिएको छ। आयोगले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम तोकिएका अनुगमन अधिकृतहरू लाई आफ्नो जिम्मेवारी कडाइका साथ निभाउन निर्देशन दिएको छ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्ति अनुसार, मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधिलाई विशेष ध्यान दिन आग्रह गरिएको छ। यो अवधिमा आचारसंहिताको दफा १७ र १८ बमोजिमका आचरणहरूको पालना भए-नभएको सूक्ष्म अनुगमन गर्न निर्देशन दिइएको छ।

यदि अनुगमनका क्रममा कसैले निर्वाचन आचारसंहिता वा निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ विपरीतका कार्य गरेको पाइएमा, जिल्ला आचारसंहिता अनुगमन समितिसँगको समन्वयमा कानुन बमोजिम कारबाही गर्न अनुगमनकर्ताहरूलाई अधिकार दिइएको छ। आयोगले प्रचारप्रसार निषेध गरिएको अवधिमा प्रचलित कानुन विपरीतका कुनै पनि कार्य नगर्न र नगराउन सरोकारवाला सबैमा आग्रह समेत गरेको छ।