नेकपा विवाद सोमबारभित्र वारपार हुन्छ – प्रधानमन्त्री ओली
काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सोमबारभित्र नेकपा विवाद वारपार हुने बताएका छन् ।
एपी–वान टेलिभिजनबाट बुधबार राति प्रसारित ‘द ब्राभो डेल्टा शो ’ मा पत्रकार भूषण दाहाललाई दिएको अन्तरवार्तामा उनले नेकपामा जारी गतिरोध पाँच दिनभित्र अन्त्य हुने बताएका हुन् ।
हाल खिचातानीकाबीच बढिरहेको पार्टीभित्रका सम्बन्धहरू हप्ता–दश दिनमा गाँसिने छ भन्ने प्रश्नको जवाफ दिदैं प्रम ओलीले यस्तो बताएका हुन्।
‘कति दिन भन्नुभयो तपाईंले ? हप्ता दश दिन होइन, हप्ता भन्दा यतै पाँच दिनमा फेरी मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनेरियो । भोलिबाट एक भनेर काउन्टडाउन सुरू गर्नुहोला’ , अन्तरवार्तामा उनले भने।
अन्तरवार्तामा उनले पार्टी फुटाउन लागेको देखि गुट चलाएको भन्ने चर्चालाई अस्वीकार गरेका छन्।
‘म माओवादीलाई समेत एउटै धारमा ल्याउने मान्छेले गुट चलाएको देख्नुभयो ? गएको चुनावमा एउटा गुट चलाएको देख्नुभयो कि मेचीकाली अभियान चलाएको देख्नुभयो ? मेचीकाली जनसागर उर्लेको देख्नुभयो ? देश ड्राइभ गर्न हिँडेको मान्छे सानो गुट चलाएको देख्नुभयो ? म संसदीय दलको नेता पनि निर्वाचन जितेर आएको हुँ। अध्यक्ष पनि लडेर भएको हुँ। म भन्दा अघि त लड्ने चलन थिएन नि। लोकप्रिय मान्छे अगाडि बढ्न दिने चलन थिएन।’ उनले भने ।
