कोरोना : मानवता र राजनीति

तु खबर संवाददाता
२०७६ चैत्र १८, मंगलवार १३:२२

कोरोना भाइरसको महामारी पश्चात लकडाउन भयो ,घर भित्र थुनिएका मानिसहरु अनेक तरिकाबाट दिन बिताइरहेका छन् । सामाजिक सँजालमा यस्तो खाइयो र उस्तो खाइयो भन्ने सामग्री, पुरानो तस्बिरको प्रदर्शन, हाम्रो पहिलो भेट कहाँ भएको थियो भन्ने जिज्ञासा, प्रहरीले लक डाउन उल्लंघन गर्नेलाई कारबाही गरेको सम्बन्धि सामाग्री, राहत वितरण , सूचना र सचेतनामुलक सामाग्री र सरकारको गतिविधिप्रतिको सुझाव र आलोचनाले महत्वपूर्ण स्थान पाएको देखिन्छ ।

स्वभावैले मानिस कोहि परिस्थितिको विश्लेषण गरेर बस्छन् कोहि रचनात्मक कार्य गर्दछन् जोकोहि आफ्नै तालमा मस्तराम हुन्छन् । रोगबाट बच्न घर भित्र थुनिएको मान्छेले भोकलाई ढोका बाहिर थुन्न सक्दैन। यस्तो बेला कोरोनाबाट बचेर मात्र हुँदैन अन्य रोगहरु बाट पनि बच्नुपर्छ । हुनेले परिकारहरु बनाएर खाँदैछन् नहुनेहरु ‘नो काम’, ‘नो माम’ को हालतमा छन् । मनकारी मानवहरु खाना, पानी, औषधि बांडेर हिँडिरहेका छन् ।

प्रोफेसर बेन्जामिन हिगिन्सका अनुसार ‘गरिवहरु यो सँसारका फर्निचर हुन् जहाँ धनिहरु जिम्नास्टीक गर्ने उद्दार अभ्यास गर्दछन् ।’ गरिवको जब ढोकाखुल्यो साहूमहाजनको चाकरी नगरी मुखमा माड लाग्दैन ढोका बन्द भो त्यही साहू महाजनको दया नपाए पेटमा मुसा दौडिन शुरु गर्छ ।

समाज व्यवस्थापन गर्न राज्यले अपनाएको राजनैतिक प्रणाली नै मानिसको जिवन पद्धतिको मुख्य निर्धारक हो। दान गर्न सक्ने हरु नै सभ्य र महान सोच्ने मानसिकताबाट समाज गुज्रिएको छ। महामारी र प्रकोपको बेला हात बाँधेर बस्ने हुनेखानेहरु ज्युँदो हुन योग्य छैनन् ।

हामी नेपाली हरुको हालत के रहेछ २ –४ दिनमै थाहा भैहाल्यो, सरकार सँग आपतकालीन कोष रित्तो छ, स्वास्थ्यकर्मीलाई पीपीई छैन, सुरक्षाकर्मी आफैं असुरक्षित भएर सुरक्षा दिइरहेको छ, आम मानिसहरु अन्यौल , भय र त्रासमा छ। कहाँबाट कसरी कोरोना शुरु भयो ? यसको रोकथाम र नियन्त्रण कसरी सम्भव छ केही अत्तोपत्तो छैन ।

सरकार आफुले होशियारपूर्वक पहल गरेको बताउँछ, एकथरी मानिसहरु उपचार र परिक्षण सामाग्रीमै भ्रष्टाचारको गन्ध आयो भनिरहेका छन् । नीजि अस्पतालहरु कोरोना त सरकारी छापवाला समस्या हो जस्तो गर्दैछन् । आज ताउलो तताउन जति गारो छ भोलि त्यो भन्दा डर लाग्दो परिस्थिति झेल्नपर्ने हुन सक्छ ।

यस्मा राज्यको ध्यान र तयारी कस्तो छ ? चुनावमा देखेको नेता यस्तो बिपद्को घडीमासमेत जनताको घर दैलोमा नदेख्दा पक्कै स्याबासीको पात्र बनिरहेका छैनन् होला आफुले भोट हालेर पठाइएका नेताहरुबाट यस्तो बेला जनताले धेरै आश गरेको हुन्छन् । यस्तो बेला जस्ले मुट्ठी खुकुलो पार्छ उहि आम मानिसको मन मुटुमा बस्ने हो। सरकारी डाडु पन्यु चलाउनेहरुको तट्स्थता र चातुर्यता यहि बेला देखिने हो।

यस्तो संकटको बेलामा स्वतन्त्र मानवको रुपमा जिउधनको सुरक्षाको साथै भोक ,रोग र अभावको विरुद्द लड्न हरेक ब्यक्तिको सक्रियता र चासो जरुरी छ। घरबारबीहिन मानवहरु, सडक मानवहरु, सडक बालबालिका, र दैनिक ज्यालादारी गरेर बाँचिरहेकाहरु सबैको आत्माले यतिबेला राहतको अनुभव गर्न पाउनुपर्छ र त्यस्को प्रमुख दायित्व सरकारको हो।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले एकीकृत अवधारणाअनुरुप नीतिगत रुपमै यो परिस्थितिको सामना गर्न क्रियाशिल हुनुपर्छ। खोइ किन हो अहिले दाताहरुको मन खुलिरहेको जस्तो देखिएको छैन। चाहे शुन्यता होस् चाहे अस्तव्यस्तता होस् सबै अवस्थामा नागरिकको कल्याण र सुरक्षा राज्यको दायित्व हो।

जसरी १९२९ र ३० तिरको बिश्वब्यापी आर्थिक मन्दी र दोस्रो बिश्वयुद्धको अन्त्यपश्चात् दीगो शान्ति स्थापना र पुनर्निर्माण लाई पहिलो प्राथमिकतामा राखेर बिश्व अघि बढ्यो र सफलता हासिल गर्दै थियो अब यो कोरोनाकालको नियन्त्रण र ब्यबस्थापनपश्चात् सामाजिक सद्भाव, सुशासन, दीर्घ रणनीति र हातेमालो गरेर अघि बढ्नुको विकल्प छैन। अहिले कस्ले के गर्‍यो भोलि हिसाब किताब गरौंला आज भने सबैले यो संकट्को विरुद्द हातेमालो गरौँ ।

मानवता आज देखाउँ भोलि त्यो फल्छ फुल्छ र फक्रन्छ । राजनीति गर्नेहरुले सामाजिक न्यायको सिद्धान्त अनुसरण गर्दै राजनीति गरौँ बेतुकको बहस, समर्थन र बिरोधले कोरोना भाग्दैन ।

लेखक पराजुली सामाजिक अभियन्ता  हुनुहुन्छ ।

 

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*