विश्वकप निःशुल्क स्ट्रिमिङ गर्ने तयारीमा रहेका ३५ प्लेटफर्म बन्द हुँदै

तु खबर संवाददाता
२०८३ जेष्ठ २८, बिहीबार २०:३३

नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका ३५ वटा वेबसाइट तथा मोबाइल एप बन्द गर्न देशभरका मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ।

प्राधिकरणले बिहीबार सेवा प्रदायकहरूलाई पत्राचार गर्दै अनधिकृत स्ट्रिमिङ रोक्न आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो। सूचना तथा सञ्चार मन्त्रालयको पत्रका आधारमा प्राधिकरणले यस्तो निर्देशन जारी गरेको जनाएको छ।

प्राधिकरणले पठाएको पत्रमा फिफा विश्वकप २०२६ को नेपालभित्रको विशेष तथा आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्कअन्तर्गतको हिमालय स्पोर्ट्स र डिसहोम डिजिटल प्रालिअन्तर्गतको डिजिओ ब्रोडकास्टिङ कन्सोर्टियम जेभीले प्राप्त गरेको उल्लेख छ। मन्त्रालयबाट प्राप्त जानकारीअनुसार केही पाइरेटेड तथा अनधिकृत वेबसाइट र एपहरूले नेपालभित्र विश्वकपका खेलहरू निःशुल्क स्ट्रिमिङ गर्ने तयारी गरिरहेको पाइएकाले त्यस्ता प्लेटफर्ममार्फत खेल प्रसारण हुन नदिने व्यवस्था मिलाउन सेवा प्रदायकहरूलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले अनधिकृत वेबसाइट तथा एपमार्फत विश्वकपका खेलहरूको प्रसारण रोकिएको जानकारी समेत आफूलाई उपलब्ध गराउन सेवा प्रदायकहरूलाई आग्रह गरेको छ।

यसअघि पनि विश्वकप फुटबलका खेलहरू अनधिकृत रूपमा प्रसारण हुँदा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूको ब्यान्डविथ खपत उल्लेखनीय रूपमा बढेको थियो। त्यसका कारण सेवा प्रदायकहरूले अन्तर्राष्ट्रिय ब्यान्डविथ शुल्कमा अतिरिक्त खर्च व्यहोर्नुपरेको थियो।

विश्वकप प्रसारण अधिकारका लागि करोडौं रुपैयाँ लगानी गरेका हिमालय स्पोर्ट्स र डिजिओले समेत अनधिकृत प्रसारण रोक्न सरकारी निकायसँग माग गर्दै आएका थिए। यस विषयमा सूचना तथा सञ्चार मन्त्रालयले सेवा प्रदायकहरूसँग छलफलसमेत गरेको थियो। सोही पहलअन्तर्गत दूरसञ्चार प्राधिकरणले अनधिकृत प्लेटफर्ममाथि नियन्त्रणका लागि निर्देशन जारी गरेको हो।