राष्ट्रसंघको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित, महत्वपूर्ण उपलब्धी भयो : थापा

तु खबर संवाददाता
२०८३ जेष्ठ २१, बिहीबार ०७:४९
फोटो : संयुक्त राष्ट्रसंघ

नेपाल संयुक्त राष्ट्रसंघीय महासभा (युएनजीए) को ८१औँ अधिवेशनअन्तर्गत प्रथम समिति (निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा) को अध्यक्षमा निर्वाचित भएको छ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सदस्य राष्ट्रहरूले नेपालमाथि गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै यसलाई बहुपक्षीयता, अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा तथा विश्वव्यापी निःशस्त्रीकरणका प्रयासप्रति सात दशकभन्दा लामो समयदेखि व्यक्त नेपालको प्रतिबद्धताप्रतिको अन्तर्राष्ट्रिय मान्यताको रुपमा रहेको बताएका छन् । उनले निष्पक्ष, पारदर्शी र समावेशिताका आधारमा प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

राष्ट्रसंघको सो समितिले निःशस्त्रीकरण, अन्तर्राष्ट्रिय सुरक्षा तथा विश्व शान्तिसम्बन्धी विषयमा छलफल र निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

स्थायी प्रतिनिधि लोकबहादुर थापाले सबै सदस्य राष्ट्रहरू प्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले भने, यो महत्त्वपूर्ण जिम्मेवारी पूर्ण निष्पक्षता, पारदर्शिता र समावेशीताका साथ पूरा गर्ने हाम्रो प्रतिबद्धतालाई मैले दोहोर्‍याएको छु ।

यस पछि अध्यक्षको हैसियतमा नेपालले ८१औँ अधिवेशनका सन्दर्भमा समितिका कार्यहरू सञ्चालन गर्ने, बहसहरूको रेखदेख गर्ने, सदस्य राष्ट्रहरूबीच वार्ताको वातावरण सहज बनाउने र अन्तर्राष्ट्रिय सुरक्षा तथा निःशस्त्रीकरणसँग सम्बन्धित मस्यौदा प्रस्तावहरूमा सहमति जुटाउने लगायतका काम गर्नेछ ।

संयुक्त राष्ट्रसङ्घ महासभाको ८१औँ अधिवेशन सन् २०२६ सेप्टेम्बरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजना हुने तय भएको छ।