सन् २०३० को गन्तव्य भेटाउन सामूहिक कार्य गर्न इकोसक अध्यक्ष थापाको आह्वान

तु खबर संवाददाता
२०८३ असार २४, बुधबार २०:२७
फोटोः इकोसक / संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्का अध्यक्ष एवं तथा नेपालका स्थायी प्रतिनिधि लोक बहादुर थापाले वर्तमान विश्वमा शान्ति, समृद्धि र दिगोपनालाई अलग-अलग गरेर हेर्न नसकिने बताएका छन् ।

न्यूयोर्कमा आयोजित सन् २०२६ को दिगो विकासका लागि  उच्चस्तरीय राजनीतिक मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष थापाले दिगो विकास लक्ष्य हासिल गर्नका लागि परम्परागत शैलीभन्दा फरक ढंगले सामूहिक र एकीकृत रूपमा काम गर्नुपर्नेमा बताए ।

सन् २०३० को कार्यसूची पूरा गर्न अब पाँच वर्षभन्दा कम समय बाँकी रहेको स्मरण गराउँदै उनले कार्यान्वयन प्रक्रियालाई तीव्र बनाउन अझ बलियो साझेदारी र प्रभावकारी अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता समेत औंल्याए ।

अध्यक्ष थापाले विश्वभर बढ्दै गएका द्वन्द्व, तीव्र जलवायु परिवर्तन, वित्तीय दबाब र ऋणको भारले विकासका प्रयासहरूलाई संकुचित बनाउँदै लगेको प्रति चिन्ता व्यक्त गरे । उनले विज्ञान, प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्समा भएको द्रुत विकासले अभूतपूर्व अवसरहरूसँगै नयाँ चुनौती र विभाजनहरू पनि सिर्जना गरेको बताए । यी संकटहरूको भार सबै देशमा समान नभएको चर्चा गर्दै थापाले विशेष गरी अति कम विकसित, भूपरिवेष्ठित विकासोन्मुख र साना टापु राष्ट्रहरूले असमान वित्तीय दबाब र आपूर्ति शृङ्खलाको अवरोध भोगिरहेको तर्फ विश्व समुदायको ध्यानाकर्षण समेत गराए ।

सम्बोधनका क्रममा उनले दिगो विकास लक्ष्यहरू ६, ७, ९, ११ र १७ को बहुआयामिक महत्त्वमाथि प्रकाश पार्दै जल सुरक्षा, सरसफाइ र स्वच्छ ऊर्जाको पहुँच मर्यादा र समानताको आधार मात्र नभएर समग्र विकासकै केन्द्रीय स्तम्भ भएको थापाको जोड थियो ।

अर्बौँ मानिस अझै पनि आधारभूत सेवाबाट वञ्चित रहनु गम्भीर विकासात्मक र नैतिक अन्याय भएको बताउँदै थापाले सुरक्षित शहर र समतामूलक प्रविधि हस्तान्तरणका लागि डिजिटल सार्वजनिक पूर्वाधार र नवप्रवर्तनलाई पुलको रूपमा प्रयोग गर्नुपर्ने धारणा राखे ।