सैन्य खर्चले विश्व सुरक्षा संकटमा: अध्यक्ष लोकबहादुर थापा

तु खबर संवाददाता
२०८३ जेष्ठ २१, बिहीबार ०८:२०
फोटो क्रेडिट : इकोसक । संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्र संघको प्रथम समितिको नवनिर्वाचित अध्यक्ष राजदूत लोकबहादुर थापाले बढ्दो भू-राजनीतिक प्रतिद्वन्द्विता र सैन्य खर्चका कारण विश्वव्यापी सुरक्षा र निशस्त्रीकरणको संरचना गम्भीर संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

राष्ट्रसंघको ८१ औं महासभाअन्तर्गतको प्रथम समितिको नेतृत्व सम्हालेपछि न्यूयोर्कस्थित मुख्यालयमा आयोजित विशेष समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

वर्तमान विश्वमा आणविक जोखिम, जारी सशस्त्र द्वन्द्व र उदीयमान प्रविधिहरूको आगमनले सामूहिक सुरक्षालाई निरन्तर चुनौती दिइरहेको उल्लेख गर्दै उनले यी बहुआयामिक संकटहरू समाधान गर्न अन्तर्राष्ट्रिय जगतमा आपसी विश्वास र बहुपक्षीयताको पुनर्जीवन अपरिहार्य रहेको कुरामा जोड दिए।

अध्यक्ष थापाले संकटपूर्ण बन्दै गएको वर्तमान वैश्विक परिस्थितिमा प्रथम समितिको भूमिका र जिम्मेवारी पहिलेभन्दा अझ बढी महत्त्वपूर्ण र अपरिहार्य बनेको प्रष्ट पारे।

विश्वव्यापी शान्ति र सुरक्षाका लागि सबै सदस्य राष्ट्रहरूबीच रचनात्मक, समावेशी र पारदर्शी संवादको सहजीकरण गर्न आफूले अध्यक्षको हैसियतमा कुनै कसर बाँकी नराख्ने उद्घोष उनले गरे। सबै प्रतिनिधिमण्डलहरूलाई निष्पक्ष र समावेशी ढंगले समेट्दै एक फलदायी र सफल सत्र सञ्चालन गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको उनको भनाइ थियो।

आफ्नो सम्बोधनका क्रममा थापाले यो गरिमामय नेतृत्वको अवसरलाई नेपालको अन्तर्राष्ट्रिय सहयोग, सहमति निर्माण र वैश्विक निशस्त्रीकरणको कार्यसूचीप्रतिको दीर्घकालीन समर्पणको साझा पहिचानका रूपमा लिएको बताए।

संयुक्त राष्ट्र संघ नेपालका लागि सधैं अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र मानव मर्यादाको संरक्षणको मुख्य आधारशिला रहेको चर्चा गर्दै उनले आफूलाई विश्वास गरेर यो जिम्मेवारी सुम्पिने सम्पूर्ण सदस्य राष्ट्रहरूप्रति हार्दिक आभार समेत प्रकट गरे। साथै उनले समितिका निवर्तमान अध्यक्ष राजदूत माउरिजियो मस्सारीको कुशल नेतृत्वको पनि सराहना गरे।