सरकारको निर्देशनप्रति महासंघको आपत्ति

तु खबर संवाददाता
२०८२ चैत्र ३०, सोमबार २१:०३

सरकारी विज्ञापन नीतिमा असहमति जनाउँदै नेपाल पत्रकार महासंघ को केन्द्रीय समितिको चौथो पूर्ण बैठक सम्पन्न भएको छ ।

महासंघले १३ बुँदे घोषणापत्र जारी गर्दै सरकारी नीतिप्रति असहमति जनाएको हो । हेटौंडामा अयोजित बैठकले सरकारले सरकारी सूचना सरकारी सञ्चारमाध्यममा मात्र दिने गरी पत्राचार गरेको विषयमा महासंघले आपत्ति जनाएको हो । यस पनि महासंघले यस विषयमा आपत्ति जनाउँदै आएको छ ।

महासंघले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रताको रक्षा आफ्नो मूल प्रतिबद्धता रहेको समेत जनाएको छ । लोकतन्त्र, स्वतन्त्र न्यायपालिका र जवाफदेही शासन प्रणालीको पक्षमा सधैं उभिने महासंघले जनाएको छ । सञ्चारसम्बन्धी नीति तथा कानुन निर्माणमा लोकतान्त्रिक मूल्य मान्यता अनुरूप अघि बढ्न सरकारलाई महासंघले आग्रह गरेको छ ।

सरकारी नीतिका कारण देशभर सञ्चालनमा रहेका सयौँ रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाको अस्तित्व संकटमा पार्दै हजारौँ सञ्चारकर्मीको रोजगारी जोखिममा पारेको छ। साथै, दुर्गम क्षेत्रसम्म सूचना प्रवाह कमजोर भई नागरिकको सूचनाको हकसमेत प्रभावित हुने ठहर महासंघको छ ।

महासंघले सरकारले जारी गरेको सो निर्देशन तत्काल खारेज गर्न माग गरेको छ ।