समाचार लेखेवापत दुई सम्पादकलाई सर्वोच्च अदालतमा झिकाइयो, पत्रकार महासंघको आपत्ति

तु खबर संवाददाता
२०७८ जेष्ठ १२,बुधबार ०८:३६
photo credit-www.supremecourt.gov.np

काठमाडौं । प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको ब्यहोराको समाचार लेख्ने पत्रकारद्वय नारायण अमृत र राजन कुइँकेललाई सर्वोच्च अदालतले कार्यालयमै बोलाएर माफी माग्न दबाब दिएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले सर्वोच्च अदालतको यस्तो कार्यको भत्र्सना गरेका छन् ।

समाचारको विषयलाई लिएर नेपाल समय डटकमका सम्पादक नारायण अमृत र इमेज खबरका सम्पादक राजन कुइँकेललाई सर्वोच्चले आफ्नै कार्यालयमा बोलाएर समाचारको विषयमा माफी माग्न दबाब दिएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

पत्रकारलाई समाचार प्रकाशित भएको विषयमा अदालतमै सोधपुछका लागि बोलाइएपछि यसको चौतर्फी निन्दा र भत्र्सना भएको छ ।

अदालतले समाचारको विषयमा बोलाएपछि दुबै सम्पादकले महासंघका पदाधिकारीलाई लिएर सर्वोच्च गएका थिए । सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीले उनीहरुलाई समाचारको स्रोत पुष्टि गर्न भन्दै समाचार हटाउन र क्षमा माग्न भनेका थिए ।

पत्रकार महासंघले समाचारको विषयलाई लिएर पत्रकारलाई सर्वोच्च अदालत बोलाएको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कुनै पनि सञ्चारमाद्यममा प्रकाशित वा प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानूनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धती छ, त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो, महासंघले भनेको छ ।

सर्वोच्च अदालतले एक विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ । समाचार दुरासयपूर्ण र भ्रमपूर्ण रहेको भन्दै सर्वोच्चले यो विषय पत्रकार आचारसंहिता विपरीत भएको समेत स्पष्ट पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*