पत्रकार किशोर श्रेष्ठको रिहाइ माग गर्दै महासंघको धर्ना

तु खबर संवाददाता
२०८३ श्रावण २८, बिहीबार १७:४९

वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौँ प्रहरी परिसर भद्रकालीमा धर्ना दिएको छ । समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार श्रेष्ठ पक्राउ परेको घटनाको विरोधमा महासंघले धर्ना दिएको हो ।

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई बुधबार राति ९ बजे काठमाडौँ प्रहरी परिसरको टोलीले ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

श्रेष्ठको पक्राउ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै महासंघले तत्काल रिहाइको माग गरेको छ । समाचारसँग सम्बन्धित विषयमा पत्रकारलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको घटनाप्रति महासंघले आपत्ति जनाएको हो ।

महासंघले पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने तथा पत्रकारितामाथि दबाब सिर्जना गर्ने कार्य रोक्न सम्बन्धित निकायसँग मागसमेत गरेको छ । यसबीच प्रहरीले जनआस्था पत्रिकाको कार्यालयमा छापा पारेको छ । पत्रिकाको कार्यालयमा छापा मारेर प्रहरीले सञ्चार सामग्रीहरु जफत गरेको छ । यसको चौतर्फी निन्दा गरिएको छ ।