वरिष्ठ पत्रकार श्रेष्ठमाथि निगरानी र धरपकड प्रयासको महासंघद्वारा विरोध

तु खबर संवाददाता
२०८३ जेष्ठ ११, सोमबार २३:४०

वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तीमा समाचार लेखेकै आधारमा पत्रकारमाथि हुने यस्ता गतिविधिे स्वतन्त्र प्रेसमाथिको आक्रमण भएको उल्लेख छ ।

केही दिनअघि जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री तथा सत्तारुढ दलका नेतासम्बन्धी आलोचनात्मक समाचार प्रकाशित भएपछि प्रधान सम्पादक श्रेष्ठमाथि यस्तो व्यवहार भएको पत्रकार महासंघले जनाएको छ ।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठमाथि सरकारको संरक्षणमा यस्तो गतिविधि भएकोमा महासंघले आपत्ति समेत जनाएको छ । पत्रकार श्रेष्ठमाथि भएको यस्ता गतिविधिको चौतर्फी विरोध भइरहेको छ । पत्रकारसँग सम्बन्धित संघसस्था तथा बौद्धिक वर्गले श्रेष्ठमाथिको आक्रमण निन्दनीय भएको बताएका छन् ।