महानगरको सभामा चितवन पोष्टका पत्रकारलाई निषेध
भरतपुर । भरतपुर महानगरपालिकाको नवौँ नगरसभामा चितवन पोष्ट संवाददाता कुलप्रसाद काफ्लेलाई समाचार संकलनमा अवरोध भएको चितवन पोष्टले जनाएको छ ।
नगर सभामा प्रस्तुत् हुने आगामी आर्थिक वर्ष२०७८ / ७९ को नीति तथा कार्यक्रम र बजेटबारे समाचार संकलनका लागि चितवन पोष्टदैनिकका संवाददाता काफ्लेलाई प्रवेश रोक लगाइएको हो ।समाचार संकलनका लागि नगरसभास्थल विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा पुगेका काफ्लेलाई मेयर दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले रोक लगाएका हुन् ।
नगरसभामा कार्यपालिका सदस्यको मात्रै उपस्थिती हुने र सूचनाका लागि महानगरले पछि पत्रकार सम्मेलन गर्ने भन्दै पत्रकार काफ्लेलाई फिर्ता पठाइएको हो । आफ्ना संवाददातालाई समाचार संकलनमा रोक लगाएपछि चितवन पोष्टले दुख व्यक्त गरेको छ ।
चितवन पोष्टका सम्पादक प्रकाश अर्यालले नेपाल पत्रकार महासंघ चितवनलाई यस सम्बन्धमा ध्यानाकर्षण समेत गराएका छन् । सो दैनिकले महासंघलाई बुझाएको ध्यानाकर्षणपत्रमा समाचार संकलनमा रोक लगाउने कदमको भत्र्सना गरिएको छ । 
