पत्रकारिता क्षेत्रको हितका लागि काम गर्छु- मणिराज गौतम, अध्यक्ष– पत्रकार महासंघ मकवानपुर

तु खबर संवाददाता
२०७८ बैशाख १,बुधबार २०:१४

मकवानपुर । पहिलो पटक नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाको प्रत्येक्ष प्रणालीबाट निर्वाचन सम्पन्न भयो । गएको चैत २५ गते सम्पन्न निर्वाचनबाट मकवानपुर शाखाको नेतृत्वको जिम्मेवारी मणिराज गौतम ले संहालेका छन् । अर्का उम्मेदवार बालकृष्ण अधिकारीलाई पराजित गर्दै गौतम निर्वाचित भएका हुन् ।

निर्वाचित नेतृत्वप्रति श्रमजीवीको अपेक्षा भनेको श्रमजीवी पत्रकारहरुको हकहित र प्रर्वद्धन, उनीहरुको भौतिक एवम् व्यवसायीक सुरक्षा, साना लगानीका सञ्चार माध्यमको प्रर्वद्धन, पत्रकारहरुको क्षमता अभिबृद्धि लगायत पत्रकार र सञ्चारमाध्ययमको हितका विषय नै हुन् ।

तु खबरले नवनिर्वाचित अध्यक्ष गौतमसंग केही कुराकानी गरेको छ ।

प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश

निर्वाचित हुनुभयो, श्रमजीवीहरुको अपेक्षा धेरै छन् । यहाँले कसरी सम्बोधन गर्ने योजना बनाउनु भएको छ ?

धन्यवाद । यो जित मेरो मात्रै होइन । समग्र श्रमजीवी पत्रकारहरुको जित भएको मैले महशुस गरेको छ । सर्वप्रथम म धन्यवाद दिन
चाहन्छु । मलाई अत्याधिक मत दिएर नेतृत्वको जिम्मेवारी सुम्पिनुभएको छ । म सँधै दत्तचित्तले समग्र पत्रकारहको हकहित र संचार माध्ययमको विकासका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । मैले निर्वाचनपूर्व पनि मेरा योजनाहरु बुँदागत रुपमा सार्वजनिक गरिसकेको छु । निर्वाचित भएकै दिनदेखि त्यसलाई कार्यान्वयन गराउने विषयमा म गम्भीर छु । अब मैले मेरो मात्रै नभई मसँगै अध्यक्ष पदका उम्मेदवार हुनुभएका बालकृष्ण अधिकारी जीको पनि एजेण्डालाई सँगै लैजाने विचार गरेको छु । त्यसो हुँदा सबै पत्रकारको मतको सम्मान हुने मेरो बुझाई छ ।

हामी सिङ्गो कार्यसमिति पत्रकार आचारसंहिता भित्र रहेर काम गर्नेछौँ । हामीले मिडिया बचाउ, मिडिया टिकाउ अभियानलाई जोडेका छौँ । यो सँगै पत्रकारहरुको समस्याको समाधान गर्न हामी पहल गर्नेछौँ । पत्रकारिता क्षेत्रकै गतिविधिहरुलाई समेटेर काम गर्ने छौँ । एजेण्डा मात्र ठूलो करा होईन । एजेण्डा पूरा गर्न आँट र क्षमता पनि हुनुपर्दछ । आम आदरणीय पत्रकारहरुको मतले आत्मविश्वास निकै बढेको छ । काम गरेर देखाउँछौँ ।

कार्यसमितिमा तपाईको चुनावी प्यानलको बहुमत छ, अर्को पक्षसंग समन्वय नहुने हो की ?

हेर्नुस् , चुनाब भनेको एउटा प्रकृया मात्रै हो । हामीले प्रकृयाको लागि भाग लिएका हौं । बालकृष्ण जी र मेरो सम्बन्ध अति राम्रो छ । हामी हिजो पनि सँगै थियौं र आज पनि सँगै छौं । उहाँले ल्याउनुभएको राम्रा योजनाहरुलाई मैले अगाडि लानेछु । साथै निवर्तमान अध्यक्ष हरि हुमागाँईले ल्याउनुभएको एजेण्डालाई पनि मिलाएर लानेछु ।

म पत्रकार महासंघको अध्यक्ष भइरहँदा म लागयत मेरो टिममा हुनुभएका सबैजना मिलेर अगाडि बढ्नेछौं । जायज कुरामा यो पक्ष त्यो विपक्ष भन्ने हुँदैन । निर्वाचित भएकै दिनबाट हामी साझा भइसकेका छौँ ।  हामी कार्यसमितिमा फरक–फरक सोच भएका व्यक्तिहरु छौं । तर पनि एउटै मोर्चामा आयौं । सबैको सोच, योजना फरक छन् । ती सबै योजना मिलाएर हामी अघि बढ्ने हो ।

पत्रकारिता क्षेत्रमा भएका विकृति हटाउन यहाँको पहल कस्तो रहन्छ ?

पत्रकारिता क्षेत्र अनुशासित, मर्यादित र समाजप्रति जवाफदेही हुनुपर्छ । म एक्लैले विकृतिको अन्त्य गर्छु भनेर सक्दिन, यसमा सबैले साथ दिनुपर्छ । हामी आफैँमा पनि केही गलत प्रवृत्तिको विकास भएको पो छ की सबैले मनन गरेर सच्चिँने प्रयास गर्नुपर्छ । गैरपत्रकारहरुलाई अनाधिकृत रुपमा संचारमाध्यमको परिचयपत्र दिनुहुँदैन ।

संचारमाध्यमहरुले यसअघि अनाधिकृत परिचय पत्र दिएको हामीले फेला पारेका छौँ । यसले समग्र मिडिया क्षेत्रको बद्नाम गराइरहेको छ । आगामी दिनमा यस्तो गैर पत्रकारलाई परिचय पत्र दिएको फेला पारेमा, वा त्यसको दूरुपयोग भएको भेटिएमा उनीहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन महासंघ लागिपर्ने छ । यस क्षेत्रका नवप्रवेशीहरुलाई पेशागत शिप र दक्षताको लागि विभिन्न तालिमको आयोजना गरिनेछ । पेशालाई सदृढिकरण गर्न पहल गरिने छ ।

 

यहाँले पत्रकारिता सुरुवात गर्दाको अवस्था र अहिले के फरक पाउनुहुन्छ ? नवप्रवेशीहरुका लागि यहाँको योजनाहरु के–के छन् ?

झण्डै २० बर्षदेखि पत्रकारिता क्षेत्रमा छु । तुलनात्मक रुपमा त्यतिबेला भन्दा अहिले धेरै पत्रकारहरु छन् । त्यतिखेरको पत्रकार र अहिलेको पत्रकारमा धेरै फरक छ । त्यतिखेर पत्रकारको छुट्टै सम्मान थियो । मिहेनत पनि धेरै गर्नुपथ्र्यो । त्यतिखेर आफुले गरेको कामको छुट्टै खुसी मिल्थ्यो । पहिले हेरिकन अहिले धेरै प्रविधिको विकास भइसकेको छ । तपाई जहाँ र जुन ठाउँमा जानुभएपनि त्यहाँबाट समाचार सम्प्रेषण गर्न सक्नुहुन्छ । प्रविधिले विकासको फट्को मारेजस्तै हामीले पनि कामको विकास गर्नुपर्दछ , यसको व्यवस्था गर्नुपर्दछ ।

देशको चौथो अंगको रुपमा परिचित पत्रकार पेशामा लाग्ने पत्रकारहरुले आफुले के काम गर्नुपर्दछ र के गर्नुहुँदैन भनि हेक्का राख्नुपर्दछ । पत्रकार हुँ भन्दै थर्काउनु÷हप्काउनु हुँदैन । हामीले गर्दा सामान्य जनता, सामान्य मान्छेहरुलाई असर पुग्नुभएन । पत्रकारहरुले पत्रकार आचारसँहिता पढ्नुपर्दछ र पालना गर्नुपर्दछ । विनाप्रमाण, सत्यतथ्य नबुझी समाचार प्रकाशन तथा प्रशारण गर्नुभएन । नयाँ पुस्तालाई पनि यी कुराहरुबारे जानकारी गराइने छ । पेशागत शिप र तालिम प्रदान गरिने छ ।

श्रमजीवी पत्रकारहरुको बारेमा लेख्ने, ग्रामिण पत्रकारिता गर्ने, अनुसन्धानमुलक, खोज मुलक समाचाहरु लेख्ने बानीको विकास गर्नुपर्दछ ।
पत्रकारिता क्षेत्रमा राजनीति हावी भएको भन्ने छ नी ?

हामी पार्टीका कार्यकर्ता होइनौँ, हामीले पत्रकारिता गर्नुपर्दछ । पर्चाकारिता होइन । हामी विभिन्न संगठनमा आवद्ध भइरहँदा मेरो संगठनको मान्छे हो मलाई भोट आउँछ भन्ने बनायौं भने हाम्रो आफ्नो हकअधिकार त्यही खोसिन्छ ।

अहिले जो पत्रकारिता क्षेत्रमा हुनुहुन्न । उहाँहरुले पत्रकार महासंघको नविकरण गर्नुभएन । हामी अब संगठित रुपमा भन्दा पनि सामुहिक रुपका एजेण्डा बोकेर अगाडि बढ्नुपर्दछ । राजनीतिक हस्तक्षेप हामीलाई स्वीकार्य हुँदैन । विभिन्न पार्टीमा आस्था राख्न नेपाली नागरिक सबैले पाउँछन् । तर, पेशामा राजनीतिको गन्ध आउनु भएन ।

यहाँको महत्वपूर्ण योजनाहरु के–के हुन् त ?

मेरो महत्वपूर्ण योजना भनेको मिडिया बचाउ र मिडिया टिकाउ नै हो । मकवानपुरको थाहा नगरपालिकामा रहेको एउटा रेडियो आगामी एक महिनाभित्र खुलाउने उद्देश्य लिएको छु । तीसँगै जिल्लामा रहेका संचारमाध्यमहरुमा रहेका समस्याको समाधान गर्नेतर्फ लाग्नेछौं ।

त्यस्तैगरी आर्थिक हिसाबले मिडियाहरु सबल बनाउन हामी काम गर्नेछौँ । यसअघिका कार्यसमतिहरुले पनि धेरै राम्रा कामहरु गर्नुभएको छ उहाँहरुको कामलाई कदर गर्नुपर्दछ । भोलि हामीे पनि राम्रोकाम गर्दा अब आगामी आउने नयाँ पीडिहरुले पनि त्यही बानी सिक्नेछन् । त्यसैले अरुले गरेको राम्रो कामको प्रशंसा गर्न पनि पछि हट्नुपर्दैन ।

त्यस्तै, विभिन्न तालिमको कुरा, महिला पत्रकार सार्थीहरुलाई सुत्केरी खर्चको व्यवस्था मिलाउँछौँ । उहाँहरुलाई परेको समस्या समाधार गर्ने कोशिस गर्नेछौं । अन्य कुरा त मैले माथि नै भनिसकेको छु ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*