बटाला अदालतमा उपस्थित, कारागार चलान

तु खबर संवाददाता
२०८३ असार ३, बुधबार २०:१६

जनमुक्ति सेनाका पूर्व कमाण्डर एवम् नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गोविन्दबहादुर बटाला सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।

व्यवसायी रामहरि श्रेष्ठको अपहरण र हत्या सम्बन्धी मुद्दामा उनलाई १० वर्ष कैद हुने फैसला भएपछि उनी सर्वोच्च अदालत आफै उपस्थित भएका हुन् । न्यायाधीशहरु डा. नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्तिसिंह थापाको इजलासले पुनरावलोकनको निवेदनमाथि सुनुवाइ गर्दै यस अघिको फैसलालाई उल्याएर सजाय तोकेको हो ।

यसरी अदालत उपस्थित भएका बलाटाले कुल २० प्रतिशत जरिवाना छुट पाउने छन् । आफै अदालत उपस्थित भएर कैदमा बस्दा जरिवानाको २० प्रतिशत मिनाहा हुने व्यवस्था रहेको छ ।

तत्कालिन जनमुक्ति सेनाका ब्रिगेड कमान्डर रहेका बटालालाई २०६८ असार ६ मा व्यापारी रामहरि श्रेष्ठलाई अपहरण गरी चितवन लगेर हत्या गरेको आरोप लागेको थियो । सोही आरोपमा उनी दोषी ठहर भएका हुन् ।

सर्वोच्च प्रशसनले उनलाई डिल्लीबजार कारागार चलान गरेको छ ।