अछाम-१ मा भीम रावल पराजित, कांग्रेसका भरतबहादुर स्वाँर विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावल पराजित भएका छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर स्वाँरसँग ५२६ मतले पराजित भएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी रावलले १० हजार २३३ मत प्राप्त गरे।
यससँगै अछाम-१ मा नेपाली कांग्रेसले करिब २६ वर्षपछि जित हासिल गर्दै आफ्नो विरासत फर्काएको छ। चार पटक सांसद निर्वाचित भइसकेका र पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका रावलको पाँचौँ पटक संसद यात्रा भने यसपटक रोकिएको छ।
उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार दीपकबहादुर साउद ७ हजार ३८९ मत ल्याउँदै तेस्रो स्थानमा रहे। राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावलले १ हजार ७३९ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्रबहादुर शाहले १०२ मत प्राप्त गरेका छन्।
