मतगणनाको नतिजा:रास्वपाको व्यापक अग्रता,कांग्रेस र एमाले पछि

तु खबर संवाददाता
२०८२ फाल्गुन २३, शनिबार ११:३१
तस्बिर : निर्वाचन आयोग, नेपाल

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रारम्भिक मतगणनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई स्पष्ट अग्रतामा देखाएको छ। सार्वजनिक भइरहेको पछिल्लो विवरणअनुसार प्रत्यक्षतर्फ रास्वपाले १०१ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ भने १ सिट जित्दै कुल १०२ सिटमा उपस्थित देखिएको छ।

त्यस्तै नेपाली कांग्रेस ११ सिटमा अग्रता र १ सिट जितसहित कुल १२ सिटमा देखिएको छ। नेकपा (एमाले) ११ सिटमा अग्रता लिएर तेस्रो स्थानमा रहेको छ भने नेकपा ९ सिटमा अग्रता लिँदै प्रतिस्पर्धामा रहेको छ।

यसैगरी राप्रपा, श्रम संस्कृति पार्टी, स्वतन्त्र उम्मेदवार, जसपा नेपाल र प्रलोपा भने १/१ सिटमा अग्रता लिएर सीमित उपस्थितिमा रहेका छन्।

जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म २७ क्षेत्रमा जित निकालिसकेको छ। बिहान १०ः१५ बजेसम्मको विवरणअनुसार रास्वपाका उम्मेदवारहरू ९० निर्वाचन क्षेत्रमा अग्रतामा रहेका छन्।

निर्वाचन आयोगका अनुसार रास्वपाबाट मोरङ-४ मा सन्तोष राजवंशी, मोरङ-६ मा रुविना आचार्य, धनुषा-३ मा मनिष झा, महोत्तरी-१ मा प्रमोदकुमार महतो, बारा-३ मा अरविन्द साह, पर्सा-१ मा बुद्धिप्रसाद पन्त, काठमाडौं-१ मा रञ्जु न्यौपाने, काठमाडौं-२ मा सुनिल केसी, काठमाडौं-३ मा राजुनाथ पाण्डे, काठमाडौं-४ मा पुकार बम, काठमाडौं-५ मा सस्मित पोखरेल, काठमाडौं-६ मा शिशिर खनाल, काठमाडौं-७ मा गणेश पराजुली, काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं-९ मा डोलप्रसाद अर्याल, काठमाडौं-१० मा प्रदीप विष्ट र भक्तपुर-१ मा रुकेश रञ्जित निर्वाचित भएका छन्।

त्यस्तै चितवन-२ मा रवि लामिछाने, कास्की-२ मा उत्तमप्रसाद पौडेल, कास्की-३ मा वीना गुरुङ, स्याङ्जा-१ मा धनन्जय रेग्मी, पर्वत-१ मा सागर भुसाल, रुपन्देही-२ मा सुलभ खरेल, रुपन्देही-३ मा डा. लेखजंग थापा, रुपन्देही-४ मा कन्हैया बनियाँ, बाँके-१ मा सुरेशकुमार चौधरी, बाँके-३ मा खगेन्द्र सुनार र कैलाली-१ मा कोमल ज्ञवाली विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म ३४ निर्वाचन क्षेत्रमा नतिजा सार्वजनिक भइसकेको छ। प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये १६१ क्षेत्रमा मतगणना जारी रहेको आयोगले जनाएको छ।

यता नेपाली कांग्रेसले हालसम्म चार क्षेत्रमा जित हासिल गरेको छ। तेह्रथुम-१ मा सन्तोष सुब्बा, मनाङ-१ मा टेकबहादुर गुरुङ, मुस्ताङ-१ मा योगेश गौचन थकाली र दैलेख-१ मा बासना थापा विजयी भएका छन्। जारी मतगणनामा कांग्रेसका उम्मेदवारहरू १० स्थानमा अग्रस्थानमा रहेका छन्।

नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व-१ बाट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् भने सो पार्टीका उम्मेदवार ११ क्षेत्रमा अग्रतामा रहेका छन्।

त्यस्तै नेकपा (एमाले)बाट बाँके-२ मा मोहम्मद इश्तियाक राई विजयी भएका छन् भने एमालेका उम्मेदवार १० क्षेत्रमा अग्रतामा रहेका छन्।

यसैबीच म्याग्दी-१ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको थियो। श्रम संस्कृति पार्टीका उम्मेदवार पाँच स्थानमा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एक स्थानमा अग्रतामा रहेका छन्।