प्रारम्भिक मतगणना उपत्यकामा रास्वपाको दबदबा, १५ मध्ये १४ क्षेत्रमा अग्रता
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपा उम्मेदवार अघि छन् भने एक क्षेत्रमा मात्रै नेपाली कांग्रेसले अग्रता बनाएको छ।
काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार अग्रस्थानमा छन्। काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं-२ मा सुनिल केसी, काठमाडौं-३ मा राजुनाथ पाण्डे, काठमाडौं-४ मा पुकार बम, काठमाडौं-५ मा सस्मित पोखरेल, काठमाडौं-६ मा शिशिर खनाल, काठमाडौं-७ मा गणेश पराजुली, काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं-९ मा डोलप्रसाद (डीपी) अर्याल र काठमाडौं-१० मा प्रदीप विष्टले अग्रता कायम गरेका छन्।
ललितपुरका तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा पनि रास्वपाले अग्रता बनाएको छ। ललितपुर-२ मा जगदीश खरेल र ललितपुर-३ मा तोसिमा कार्की अघि छन्। ललितपुर-१ मा भने नेपाली कांग्रेसका उदयशम्शेर राणाले अग्रता लिएका छन्।
भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा पनि रास्वपाका उम्मेदवार अघि छन्। भक्तपुर-१ मा रुकेश रञ्जितले अग्रता बनाउँदा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाल उनलाई पछ्याइरहेका छन्।
त्यस्तै भक्तपुर-२ मा रास्वपाका राजिव खत्री अग्रस्थानमा रहँदा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पछि परेका छन्।
मतगणना जारी रहेकाले परिणाममा फेरबदल हुन सक्ने निर्वाचन आयोगले जनाएको छ।
