दोलखामा मतदानस्थलबाट ५६ बुक मतपत्र हरायो, विवादका कारण मतदान प्रभावित

तु खबर संवाददाता
२०८२ फाल्गुन २१, बिहीबार १६:३६

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका-४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट ५६ बुक मतपत्र हराएको घटना सार्वजनिक भएको छ।

प्रहरीका अनुसार हराएको मतपत्रको खोजी भइरहेको छ। बिहीबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएलगत्तै मतदान केन्द्रमा खटिएका कर्मचारीमाथि एउटा समूहले हातपात गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो।

सो घटनापछि केन्द्रमा विवाद चर्किएको थियो। सर्वदलीय बैठकले मतदान सुरु गर्ने सहमति गरे पनि मतपत्र हराएको विषय उठेपछि मतदान अझै सुरु हुन सकेको छैन।

निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूले हराएको मतपत्रलाई मुचुल्का बनाएर गणनामा समावेश नगर्ने व्यवस्था गर्दै मतदान सुरु गर्न आग्रह गरेका थिए। तर, दलका प्रतिनिधिहरूले उक्त प्रस्ताव स्वीकार नगरेपछि विवाद कायम रहेको छ।

विवादमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता संलग्न रहेको बताइएको छ। मतदान सुरु भएको केही समयमै कर्मचारीमाथि हातपात गर्न खोजिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको थियो।