विप्लव नेतृत्वलाई मूलधारमा फर्किन प्रचण्डको आह्वान
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) लाई आत्मसमीक्षा गर्दै एकताको मूलधारमा फर्किन आग्रह गरेका छन्।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउन आजको परिस्थितिमा एकता अपरिहार्य भएको बताए। समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्दै उनले पछिल्लो पटक एकता लगभग टुंगिएको आफूले बुझे पनि त्यो सफल हुन नसकेको बताए।
उनका अनुसार समाजवादी मोर्चामा सँगै हुँदा मोर्चालाई नै एकतामा लैजाने प्रयास गरिएको थियो र विप्लवसहितका नेतासँग पटक-पटक गम्भीर वार्ता र छलफल भएका थिए। ‘पछिल्लो पटक त झण्डै टुंगियो भन्ने लागेको थियो। म आफै उहाँको निवासमा गएर लामो र गम्भीर छलफल भएपछि अब एकतामा जाने भनिएको थियो,’ प्रचण्डले भने।
जेन-जी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको टिप्पणी गर्दै उनले मुख्य नेतृत्व नै ठूलो भुमरीमा परेको जस्तो अनुभूति भएको बताए। खुमलटारमा प्रकाण्डसँग भएको छलफल स्मरण गर्दै प्रचण्डले त्यसबेला एकता नजिक पुगेको विश्वास भए पनि पछि परिस्थिति फेरिएको उल्लेख गरे।
प्रचण्डले आफूहरूले पनि आत्मसमीक्षा गरेर एकताको बाटो रोजेको भन्दै विप्लव पक्षका लागि अझै अवसर बाँकी रहेको बताए। ‘यताउता भौतारिएर केही हुँदैन। वास्तविक घर यही हो,’ उनले भने, ‘आत्मसमीक्षा गरेर एकतामा प्रक्रियामा आए फेरि पनि स्वागत गर्न हामी तयार छौँ।’
पुराना सहयात्री कम्युनिस्ट नेताका हैसियतले गम्भीर अपिल गर्दै प्रचण्डले भने, ‘यो आत्मसमीक्षा गर्ने समय हो। अवसर अझै सकिएको छैन। राष्ट्रको स्वाधीनता र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि एकताबाटै फेरि तागत पैदा गर्नुपर्छ।’
