बागमती प्रदेशसभाका सभामुख पाठकले पदबाट राजीनामा दिए

तु खबर संवाददाता
२०८२ आश्विन १, बुधबार १३:०८
file-photo

काठमाडौँ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार उपसभामुख अप्सरा चापागाईंलाई आधिकारिक राजीनामा पत्र बुझाएका हुन्।

गत २४ भदौमा जेनजी आन्दोलन चर्किएपछि सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका पाठकले औपचारिक प्रक्रिया पुरा गर्न आज पत्र बुझाएका हुन् । उनले ह्वाट्स एपमार्फत पनि उपसभामुखलाई पत्र पठाएको पुष्टि भएको छ।

भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको आन्दोलनमा अस्वाभाविक बल प्रयोगबाट जनहानि भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले भदौ २४ गते नै फेसबुकमार्फत राजीनामा घोषणा गरेका थिए।

‘नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेशसभाको सभामुख पदबाट राजीनामा गरेको छु,’ पाठकले पठाएको पत्रमा उल्लेख छ।

राप्रपाबाट निर्वाचित पाठक बागमती प्रदेशसभाको सभामुख बनेका थिए । भदौ २३ गते प्रदर्शनपछिका घटनाक्रमलाई लिएर राप्रपाका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूले सामूहिक राजीनामा घोषणा गरेका थिए, जसअनुरूप पाठकले पनि सभामुख पद त्यागेका हुन्।