फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सीईओ पक्राउ

तु खबर संवाददाता
२०८२ जेष्ठ १८, आईतवार ११:५०

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेर फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा संस्थापक अध्यक्ष राजेन्द्र वीर रायलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले उनलाई जेठ १७ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहिया क्षेत्रबाट पक्राउ गरेको हो।

नेपाल प्रहरीद्वारा जारी गरिएको विज्ञप्तिअनुसार राय बैंक सञ्चालक समितिको अध्यक्ष पदमा पटक–पटक कार्यरत रहँदै, आफ्नै नेतृत्वमा बैंक सञ्चालन गर्दा आम सर्वसाधारणबाट संकलन गरिएका बचत रकममा व्यापक अनियमितता गरी हिनामिना गरेका थिए। बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उनलाई पक्राउ गरी नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।