‘सत्य–तथ्य सूचना सम्प्रेषण हुँदा मात्र नागरिकले सुशासनको प्रत्याभूति गर्नसक्छ’

तु खबर संवाददाता
२०८१ माघ ९, बुधबार ०९:०२

मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले सत्य–तथ्य सूचना सम्प्रेषण हुँदा मात्र नागरिकले सुशासनको प्रत्याभूति गर्न सक्ने बताएका छन् ।

प्रदेश सूचना पुनरावेदन समिति बागमती प्रदेशको आयोजनामा मंगलबार हेटौंडामा भएको सूचनाको हक प्रर्बद्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री लामिछाने सही सुचनाबाटै सुशासनको परिकल्पना गर्न सकिने भन्दै यस्तो बताएका हुन् ।

उनले विभिन्न बहानामा सुचना नदिनु निरङकुशता भएको जिकिर गर्दै संघीयताको कार्यान्वयन पश्चात् प्रादेशिक तहमा सूचना हक सम्बन्धी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय सूचना आयोगलाई मात्र नभई पुनरावेदन समितिलाई पनि जिम्मेवार ढंगले अघि बढाउनुपर्ने उनको भनाई छ । मन्त्री लामिछानेले आवश्यक भौतिक संरचनाको व्यवस्था गरी समितिलाई सुदृढ बनाउन प्रदेश सरकार तत्पर रहेको बताए ।

मन्त्री लामिछानेले निष्पक्ष र पारदर्शी सूचनाले लोकतन्त्रलाई बलियो बनाउने बताउँदै उक्त विषयमा सूचनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । सूचनाले अक्सिजनको रूपमा काम गर्ने भन्दै उनले पछिल्लो समय सूचनाको दुरुपयोग गर्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरे ।

सो क्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव मनुका घिमिरेले सूचनाको हक र सूचना अधिकारी सम्बन्धी कानूनी व्यवस्था सम्बन्धी प्रस्तुतीकरण दिएकी थिइन् भने प्रदेश सूचना पुनरावेदन समिति अध्यक्ष हरि अधिकारीले समितिको भूमिका बारेमा जानकारी गारएका थिए ।

कार्यक्रममा सहभागीहरुले सूचना माग गर्दा सरकारी निकायबाट नै समयमा सूचना नपाइने गरेको गुनासो गरेका थिए ।

कार्यक्रममा प्रदेशस्थित मन्त्रालयका सूचना अधिकारी, मकवानपुरका स्थानीय तहका सूचना अधिकारी, हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका वडा सचिव, सूचनाका हकका क्षेत्रमा काम गर्ने अधिकारकर्मीलगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।