आज तीन संसदीय समितिको बैठक बस्ने

तु खबर संवाददाता
२०८१ मंसिर २७, बिहीबार ०९:२६
file-photo

काठमाडौं। आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो ।

जसअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक मध्यान्ह सवा १२ बजे बस्नेछ । सो बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफल गर्नेछ ।

त्यस्तै, दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । बैठकमा औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल हुनेछ ।

यसैगरी, साढे १२ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । उक्त बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरू सम्बन्धमा छलफल हुनेछ ।