‘भ्रष्टाचार नियन्त्रण गर्न सबै एकजुट हुनुपर्छ’

तु खबर संवाददाता
२०८१ मंसिर २४, सोमबार १६:२०

हेटौंडो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले भ्रष्टाचार नियन्त्रण गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८१ को अवसरमा सोमबार हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनल भ्रष्टाचार नियन्त्रणका लागि मन्त्रालयदेखि कार्यपालिका, न्यायपालिका सबै एकताबद्ध र एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।

हिजोको विधिले मात्रै भ्रष्टाचार नियन्त्रण सम्भव नभएको भन्दै उनले अब बन्ने विधि प्रविधिमैत्री हुनुपर्ने बताए । उनले राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी र आम नागरिक सबैको सम्पत्ति पहिचान भए मात्रै भ्रष्टाचार नियन्त्रण हुनसक्ने बताए ।

ऐन कानुन मात्रै ल्याएर नहुने बताउँदै उनले भ्रष्टाचार नियन्त्रणको विधि आवश्यक रहेको औल्याए ।

यस्तै, कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले भ्रष्ट आचरण बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले पछिल्लो समय मानिसहरू केवल द्रव्य कमाउन मात्रै केन्द्रित भएको भन्दै उनले कानुन, नियमको परिधि उलङ्घनको क्रम बढ्दो क्रममा रहेको उल्लेख गरे ।

उनले विकास र समृद्धिको बाधक भ्रष्टाचार भएकाले यसको नियन्त्रण र न्यूनीकरणमा सबैले इमानदारी प्रस्तुत गर्न आवश्यक रहेको जिकिर गरे ।

सो क्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका कार्यालय प्रमुख उमाकान्त आचार्यले भ्रष्टाचारको प्रकृति र प्रवृत्ति फरक हुँदै गएको र गैर कानुनी लेनदेन समाजमा फरक तरिकाले हुँदै आएको बताए ।

सरकारी प्रतिवेदन, महालेखाको प्रतिवेदनले सबैलाई गिज्याइरहेको भन्दै उनीहरुले राज्यका कुनै पनि नीति निर्माणमा संलग्नमा सदाचारी, इमानदार नभएसम्म भ्रष्टाचार न्यूनीकरण र नियन्त्रण हुन नसक्ने उल्लेख गरे ।

बागमती प्रदेशका प्रमुख सचिव डा.हरिप्रसाद लम्सालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्री, सचिव, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।