बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र संचालनमा ल्याउने तयारी

तु खबर संवाददाता
२०८१ आश्विन १८, शुक्रबार १५:५८

काठमाडौं । सरकारले आगामी तीन दिनभित्र बीपी राजमार्गबाहेक समपूर्ण राजमाार्ग संचालनमा ल्याउने तयारी गरेको छ ।

सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी तीन दिनभित्र बीपी राजमार्ग बाहेक देशका सम्पूर्ण राजमार्ग संचालनमा ल्याउने तयारी गरेको हो ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले सो कुराको जानकारी गराएका हुन् । उनले एक साताअघि आएको अविरल वर्षाका कारण बाढी–पहिरो गएर क्षतिग्रस्त बनाएका राजमार्गहरू संचालनमा ल्याउने तयारी गरिएको बताए ।

बीपी राजमार्ग संचालन गर्न भने समय लाग्ने उनको भनाई छ । उनले सो राजमार्गको १२ किलोमिटर सडक बगेकाले अस्थायी सडक बनाएर संचालन गर्न कठिनाइ रहेको सांसदहरुलाई बताए ।

सचिव शर्माले बाढी–पहिरोबाट ८० राजमार्गमध्ये २४ वटा राजमार्गमा ८०५ स्थानमा क्षति पुर्याएको र हालसम्म ७७४ स्थानको पहिरो हटाइएको पनि बताए ।

अझै पाँच वटा राजमार्गका २१ स्थानमा पहिरोले अवरुद्ध भएकोले पहिरो पन्छाएर संचालन गर्न प्रयास गरिरहेको उनले बताए । सचिव शर्माले भोलिदेखि कान्तिराजपथ संचालनमा आउन सक्ने उल्लेख गरे ।

कान्तिराजपथ अन्तर्गत छपेलीदेखि बगुवासम्म बाटो खुला रहेको र बागमती नदीको १५ मिटरको भाग कटान भएकोले नेपाली सेना र सडक विभागका कर्मचारीले सडक मर्मतको काम गरिरहेको उनले बताए ।