अनिश्चितकालका लागि स्थगित भयो बागमती प्रदेश सभा बैठक

तु खबर संवाददाता
२०८१ आश्विन ८, मंगलवार ०९:५५

मकवानपुर । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सोमबार बसेको बैठकमा सो कुराको जानकारी गराएका हुन् ।

आइतबारबाट सुरु भएको प्रदेश सभाको सोमबार दुई वटा बैठक बसेको थियो । सोमबार बसेको पहिलो बैठकमा विशेष समय दिइएको थियो । सो क्रममा सत्तापक्ष र प्रतिपक्ष गरी २० जना सांसद्हरुले आ–आफ्नो सुझावहरु प्रस्तुत गरेका थिए ।

यस्तै, सोमबार नै बसेको दोस्रो बैठकले विभिन्न तीन वटा विधेयक पारित गर्यो । बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरेको हो ।

बैठकमा प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उद्योग, वाणिज्य, भूमी तथा सामान्य प्रशासनमन्त्री सुकुमाया तामाङले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरियोस् भनि पेश गरेका थिए ।

प्रदेश सभाको असोज ६ गते आइतबार बसेको बैठकमा उक्त विधेयकको प्रतिवेदन पेश गरिएको थियो भने सोमबारको बैठकले सो प्रतिवेदनमाथि छलफल गरी तीनै वटा विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।

यस्तै, सोमबार बसेको बैठकमा सभामुख पाठकले प्रदेश मामिला समितिमा डा. राजेन्द्रमान श्रेष्ठ, कृषि, स्वास्थ्य तथा शिक्षामा रमा आले मगर र उद्योग, पर्यटन समितिमा लक्ष्मण लम्साललाई मनोनयन गरेका थिए । उक्त मनोनयनलाई सोही बैठकले अनुमोदन गरिएको थियो ।

यस्तै, प्रदेश सभाको आइतबार र सोमबार बसेको बैठकमा छलफलमा उठेका प्रश्नहरुको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले जवाफ पनि दिएका थिए ।