कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

तु खबर संवाददाता
२०८१ आश्विन ४, शुक्रबार १६:४२
file-photo

काठमाडौं । कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहले पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् शहरी विकास मन्त्री सिंहलाई दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्युयोक प्रस्थान गरेसँगै राष्ट्रपति पौडेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मा सिंहलाई दिएका हुन् ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघको महासभाको ७९ औँ अधिवेशनमा सहभागि हुन प्रधानमन्त्री ओली शुक्रबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू पनि त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनीहरु असोज १४ गते स्वदेश फर्कने कार्यसूची रहेको छ । प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने छन् ।