स्वदेशी उत्पादनमा जोड दिन मन्त्री तामाङको आग्रह

तु खबर संवाददाता
२०८१ आश्विन २, बुधबार १०:०६

हेटौंडा । बागमती प्रदेशको, उद्योग वाणिज्य, भूमि व्यवस्था तथा प्रशासनमन्त्री सुकमाया तामाङले स्वदेशी उत्पादनमा जोड दिन आग्रह गरेकी छन् ।

मन्त्री तामाङले भरतपुरस्थित औद्योगिक प्रदर्शनीमा बडादशैँ स्वदेशी जुत्ता चप्पल व्यापार मेलाको उद्घाटन गर्दै मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनमा जोड दिन आग्रह गरेकी हुन् ।

उनले नेपाल धेरै वस्तुको उत्पादनमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको बताउँदै स्थानीय स्रोत साधन उपयोगमा लाग्नु पर्ने बताइन् ।

चितवन उद्योग संघले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्व मेला २०८१ अन्तर्गत स्वदेशी जुत्ता–चप्पल व्यापार मेला आयोजना गरेको हो । मेला दैनिक बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने मेलाको सह–आयोजक संस्था वेश ग्लोबल प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।

मेलामा आठ कम्पनीका तीन हजार भन्दा बढी मोडलका जुत्ता, चप्पल एकै ठाँउमा पाउन सकिन्छ । मेलामा ४० वटा स्टल राखिएको छ । नेपालमा उत्पादित जुत्ता–चप्पल तथा छालाजन्य वस्तुहरु महिला, पुरुष, बच्चा सबैलाई समेटिने गरी आकर्षक छुटमा खरिद गर्न सकिने उपाध्यायले बताए ।

मेलामा ३५ हजार जोर जुत्ता–चप्पलको बिक्री हुने र दुई करोड रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको उनको भनाई छ । त्यस्तै, मेलाको करिब एक लाख ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको उनले बताए ।

उनका अनुसार, प्रत्येक दिन जुत्ता–चप्पल खरिद गर्ने ग्राहकहरुलाई कुपनको व्यवस्था गरिनेछ । जुत्ता–चप्पल खरिदमा १५ देखि ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । साथै असोज २१ गते लक्की ड्र मार्फत् खोलिने कुपन मध्येबाट एक जनालाई २५ हजार रुपैयाँ बराबरको खसी उपहार प्रदान गरिनेछ ।