बागमती प्रदेशः भ्रष्टाचार सम्बन्धी बढी उजुरी वन र भौतिक मन्त्रालयविरुद्ध

तु खबर संवाददाता
२०८१ आश्विन २, बुधबार ०९:३९

मकवानपुर । भ्रष्टाचार सम्बन्धी बढी उजुरी पर्ने मन्त्रालयमा बारामती प्रदेशका दुई मन्त्रालय रहेको पाइएको छ ।

सात प्रदेशका भ्रष्टाचार सम्बन्धी बढी उजुरी परेका १० मन्त्रालयमध्येमा बागमतीका वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय रहेको पाइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०–०८१ मा सात प्रदेशका भ्रष्टाचारसम्बन्धी बढी उजुरी पर्ने प्रदेशका १० मन्त्रालयमध्येमा बागमतीको ती दुई मन्त्रालयको नाम पनि उल्लेख गरिएको छ ।

आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको प्रतिवेदन अनुसार, बागमती प्रदेशको दुबै मन्त्रालयविरुद्ध भ्रष्टाचारसम्बन्धी उजुरीको सख्या अघिल्लो आर्थिक वर्ष २०७९–८० को अनुपातमा गत आर्थिक वर्ष २०८०–८१ धेरै सख्यामा वृद्धि भएको छ ।

प्रदेशको वन तथा वातावरण मन्त्रालयविरुद्ध गत आर्थिक वर्ष २०८०–८१ सम्ममा १९६ चटा भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ । उक्त मन्त्रालयविरुद्ध भ्रष्टाचारसम्बन्धी आव २०७२–८० सम्म ४० वटा उजुरी परेकोमा गत आवमा मात्र १५६ उजुरी थपिएको आयोगको तथ्याकमा उल्लेख छ ।

यस्तै, बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयविरुद्ध भ्रष्टाचारसम्बन्धी उजुरी गत आर्थिक वर्षसम्ममा ८० वटा परेका छन् । अघिल्लो आवमा २६ वटा उजुरी परेकोमा गत आवमा ५४ वटा उजुरी थपिएका थिए । भौतिक पूर्वाधार विकास मन्त्रालयको भौतिक पूर्वाधार र यातायात क्षेत्रमा भ्रष्टाचार परेको भन्दै उजुरी दर्ता भएको जनाइएको छ ।