निर्वाचन आयोगद्वारा मंसिर १६ गते उपनिर्वाचन गर्न प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते उपनिर्वाचन तोक्न सरकारसमक्ष प्रस्ताव गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर उक्त प्रस्ताव गरेका हुन् ।
स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी गरिएको हो ।
भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आग्रह गरेका छन् ।
आयोग पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायतको सहभागिता रहेको थियो ।
