प्रधानमन्त्रीद्वारा पदक विजेता पलेसालाई पुरस्कार प्रदान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा काँस्य पदक विजेता पलेसा गोवर्द्धनलाई पुरस्कार प्रदान गरेको गरेका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार एक कार्यक्रमबीच पदक विजेता पलेसालाई मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम ६५ लाख रुपैयाँ पुरस्कार प्रदान गरेका हुन् ।
पलेसालाई कर नकटाई उक्त रकम दिइएको हो । पलेसालाई युुवा तथा खेलकुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा उक्त रकम प्रदान गरिएको हो ।
यस्तै, सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हाँसिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो–छिटो पुरस्कार दिने र राशीमा कर नकटाउने नीति लिइएको जानकारी दिए ।
उनले आगामी विश्वस्तरका खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गरे । पलेसाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठुलो पदक भएकाले देशले गौरव गरेको उनको भनाई छ ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य टङ्कलाल घिसिङ, नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीलगायतको उपस्तिथि रहेको थियो ।
