युवा र महिलालाई वनसँग जोड्नुपर्छः सांसद पाठक
मकवानपुर । बागमती प्रदेश सभा सदस्य भारती कुमारी पाठकले युवा र महिलालाई सामुदायिक वनसँग जोड्नुपर्ने बताएकी छन् ।
बिहीबार प्राकृतिक स्रोतमा महिला अधिकार सञ्जाल (डब्लूआरआरएन) ले आयोजना गरेको वन व्यवस्थापनमा समुदायको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
हेटौंडा–६ चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको हलमा भएको कार्यक्रममा सांसद पाठकले वनमार्फत् आर्यआर्जनमा जोड्नुपर्ने बताइन् । उनले वनको दिगो व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समुदायले जानकारी दिनुपर्ने उनको भनाई छ ।
देशभर रहेका वन उपभोक्ता समूहले नै वन जोगाएर हराभरा बनाएको बताउँदै उनले अब समुदायले व्यवस्थापनको पाटोमा पनि काम गर्नुपर्नेमा जोड दिइन् । उनले वनमा उमेर पुगेका रुख निकाल्ने, जडिबुटी रोप्ने र वन व्यवस्थापन गर्दै आयआर्जनमा जोडिनुपर्ने बताइन् ।
कार्यक्रममा डा.योगेन्द्र यादवले दिगो वन व्यवस्थापनका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण कटुवाल, प्रगतिशिल युवा क्लवका अध्यक्ष नवराज तिमल्सिना, समूहका उपाध्यक्ष उमेश अधिकारी लगायतकाले वन समूहका बारेमा मन्तव्य राखेका थिए ।
चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव केदार प्रसाद गौतमले सहजीकरण गरेको कार्यक्रममा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह कार्यसमिति, उप–समिति, प्रगतिशिल युवा क्लबका ३० जनाको सहभागिता रहेको थियो ।
