मन्त्री काफ्लेको प्रतिबद्धताः ‘शारिरीक अशक्त बालबालिकाका लागि प्रदेश सरकारले बजेट छुट्याउछ’
मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्ले शारिरीक अशक्त बालबालिकाका लागि प्रदेश सरकारले नीतिमा आधारित बजेट छुट्याउने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार हेटौंडा–७ स्थित आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रको दोस्रो तल्ला भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले आगामी दिनहरुमा प्रदेश सरकारले अशक्त बालबालिकाका लागि नीतिमा आधारित बजेट छुट्टयाउने प्रतिबद्घता गरेकाहुन् ।
सरकारले गर्नुपर्ने दायित्व आशा विशेष पाठशालाले निर्वाह गरेको भन्दै मन्त्री काफ्लेले प्रसंशा गरे । उनले अब देश बनाउन तीन तहको सरकारसँगै युवाहरुको पनि उत्तिकै भूमिका रहेको बताउँदै त्यसमा हातेमालो गर्न युवाहरुलाई आग्रह गरे ।
नेपाली युवाहरु विदेशीने लहर चलेको अवस्थामा विदेशी चेलीले नेपालमा आएर समाज सुधार अभियान संचालन गरिरहेको उनले बताए ।
कसरी र कहिले स्थापना भयो आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्र ?
उक्त पुर्नस्थापना केन्द्रको संचालक संस्था सि आशा फाउण्डेशनकी संरक्षक आइना बार्का पढाइको सिलसिलामा पहिलो पटक सन् २०१२ मा नेपाल आएकी थिइन् । युनिभर्सिटी अफ बार्सिलोनामा ‘सोसल वर्क’ पढिरहेकी आइना त्यतिबेला २१ वर्ष रहेकी उनी बताउँछिन् ।
आफ्नो देशमा पनि बौद्धिक अपाङ्गता भएकाहरूसँग काम गरिरहेकी आइना यस्तै व्यक्तिबारे थप जानकारी लिने उद्देश्यले नेपाल आएकी बताइन् । तर, पहिलो पटक नेपाल भ्रमण गरेपछि उनको जीवन नै परिवर्तन भएको उनको भनाई छ ।
उनी भन्छिन, ‘पहिलो पटक म हेटौंडा आउँदा अशक्त बालबालिकाको लागि पढ्ने विद्यालय नै थिएन । हेटौंडामा भन्दापनि, पूरै मकवानपुर जिल्लामै विद्यालय नभएको कारणले बालबालिकाहरू सधैँ घरमा बस्थे । उनीहरूको काम सुत्ने र खाने मात्रै थियो ।’
त्यस लगतै उनी स्पेन फर्किन । स्पेन फर्केको १५ दिनपछि नै नेपाल फर्कन्छु भनेर उनले सोच बनाइन् । तर, आइनालाई नेपाल फिर्ता हुन आठ महिना लाग्यो । त्यस अवधिभर उनले स्पेनमा दर्ता गरेको संस्थामार्फत् पैसा सङ्कलन गर्न थालिन् । उनले रकम संकलनको क्रममा स्पेनका अधिकांशलाई नेपाल कहाँ हो भन्ने पनि थाहा नभएकोले पैसा जुटाउन निकै असहज भएको आफ्नो त्यो अनुभव सुनाइन् ।
यसरी सङ्कलन भएको पैसा बोकेर उनी नेपाल फर्किइन् । एउटा सुन्दर संसार बनाउनका लागि अशक्त बालबालिकाहरुको क्षेत्रमा आफ्नो पनि केही योगदान होस् भन्ने चाहना बोकेर आइना सुरुमै हेटौंडा आइन् । सन् २०१३ को डिसेम्बरमा आइनाले हेटौँडामा आशा विशेष पाठशाला खोलिन् । यो स्थापना गर्दाको सुरुवाती समय स्मरण गर्दै उनले त्यसबेला आफू विदेशी र एक्ली महिला भएकै कारण भेदभाव सहनुपरेको बताइन् । तर, करिब २ दुई महिनाको निरन्तर संघर्ष पश्चात् अन्ततः उनी सफल भइन् ।
हाल आशा फाउण्डेशनले हेटौंडासँगै ललितपुरको सानेपामा आशा विशेष पूर्व व्यवसायिक शिक्षा तथा सिपमुलक तालिम केन्द्र सञ्चालन गरी १८ वर्ष माथिका शारीरिक तथा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको छ ।

जन्मजात बौद्धिक अपाङ्ग भएका बालबालिकाको संरक्षण, हेरचाह, शिक्षा लगायतको काम गदै आएको आशा विद्यालयलाई बागमती प्रदेश सरकार र आर्थिक मामिला मन्त्री काफ्लेको प्रतिबद्घता अनुसार आवश्यक सहयोग प्राप्त हुने कुरामा आफूहरु विश्वस्त रहेको आशा विशेष पाठशालाका अध्यक्ष बालकृष्ण चौलागाईंले बताए ।
