प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को प्रतिवेदन पेश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को पछिल्ला दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
राष्ट्रपति भवन, शीतल निवासमा मंगलबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेल समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष परिषद्को आर्थिक वर्षका २०७९/०८० र २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
प्रधानमन्त्री ओलीले प्रतिवेदनमा समाविष्ट मुख्य विषयबारे प्रकाश पार्दै राष्ट्रिय÷क्षेत्रीय÷अन्तर्राष्ट्रिय सुरक्षा स्थिति र चुनौतीको विश्लेषण प्रतिवेदनमा गरिएको जानकारी गराए ।
सो कार्यक्रममा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, रक्षा मन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतको सहभागिता रहेको थियो ।
परिषद्को यही भदौ ९ गतेको ३४ औँ बैठकले सो प्रतिवेदनको मस्यौदामाथि छलफलसहित पारित गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको थियो ।
