नेविसंघले लगायो हेटौंडाको वन विज्ञान संकायमा ताला

तु खबर संवाददाता
२०८१ भाद्र १८, मंगलवार १५:४८

मकवानपुर । चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय क्याम्पसमा गत भदौ १३ गते आफ्ना विद्यार्थी नेताहरुमाथि कुटपिट भएको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय हेटौंडामा तालाबन्दी गरेको छ ।

विश्वविद्यालयको केन्द्रीय एवम् सम्पूर्ण आङ्गिक क्याम्पसहरू, कृषि संकाय र वन विज्ञान संकायमा सम्पूर्ण प्रशासनिक, शैक्षिक र परीक्षाका कामकाजहरु बन्द गर्ने कार्यक्रमअन्तरगत नेपाली विद्यार्थी संघले मंगलबार बिहान हेटौंडास्थित वन विज्ञान संकायमा तालाबन्दी गरेको हो ।

नेपाल विद्यार्थी संघ, कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय हेटौंडामा ईकाई समिति सभापति अस्मित घिमिरे, ईकाई निर्वतमान सभापति संकल्प सेढाई, नेविसंघ केन्द्रीय सदस्य मिलन पुडासैनीलगायतको नेतृत्वमा पुगेको टोलीले कुटपिट घटनामा संलग्नलाई कारबाही तथा विश्वविद्यालयबाट निष्कासन तथा परिचालन गर्नेहरुमाथि पनि कारबाही नभएसम्मका लागि भन्दै तालाबन्दी गरेका हुन् ।

विश्विवद्यालयका रजिष्ट्रार, कल्याणकारी परिषद् एवम् त्यहाँको पदाधिकारीको नेतृत्वमा परिचालित अनेरास्ववियुका कार्यकर्ताले आफ्ना नेताहरुमाथि कुटपिट गरेको नेविसंघको आरोप छ ।

साथै नेविसंघले वन विज्ञान संकाय हेटौंडा ईकाइ समितिले घाइते विद्यार्थीको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।