बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवको जिम्मेवारी पाठकलाई

तु खबर संवाददाता
२०८१ भाद्र १७, सोमबार १२:५०

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवको जिम्मेवारी बद्रीबहादुर पाठकलाई दिइएको छ ।

भदौ १३ गतेको मुख्यमन्त्रीस्तरको निर्णय अनुसार परिषद्का प्रमुख पाठकलाई सदस्य सचिवको जिम्मेवारी तोकिएको हो ।

सदस्य सचिव पद रिक्त हुँदा परिषद्को दैनिक कार्य सञ्चालन तथा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको काममा बाधा उत्पन्न भएको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि परिषद्को सदस्य सचिवको रुपमा कामकाज गर्ने गरी पाठकलाई जिम्मेवारी तोकिएको प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए ।

यससँगै परिषद्को दैनिक कार्य सञ्चालन तथा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको कार्य अघि बढाउन सहज भएको मन्त्री महर्जनले बताए ।  उनले चाँडै सदस्य सचिव नियुक्त गरिने समेत बताए ।

२३ असार २०८१ बाट तत्कालिन सदस्य सचिव सूर्यलाल भण्डारीको ५ वर्षे कार्यकाल सकिएको हो । २०७६ मा तत्कालिन डोरमणि पौडेल नेतृत्वको सरकारले काठमाडौँ महानगरपालिका ३१ निवासी भण्डारीलाई सदस्य सचिव नियुक्त गरेको थियो ।