एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो छान्न आज मतदान
काठमाडौं । नेकपा एकीकृत समाजवादीको रिक्त पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि आज निर्वाचन हुँदैछ ।
सोमबार सम्पन्न केन्द्रीय कमिटी बैठकले सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट प्रकृया आडि बढाएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार, मतदाताको नामावली सार्वजनिक भइसकेको छ ।
आज वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्य छनौटका लागि निर्वाचन हुन लागिएको हो ।
पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ ।
उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम आज बिहानदेखि सुरु भई, दिउँसो २ देखि ५ बजेसम्म मतदान र साँझसम्म मतगणना गरिने निर्वाचन आयोगले जनाएको छ ।
केन्द्रीय कमिटी सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउनेछन् ।
सचिवालय सदस्य, स्थायी समिति सदस्य विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ ।
