लामाद्वारा मुख्यमन्त्री पदमा दाबी पेश

तु खबर संवाददाता
२०८१ श्रावण ८, मंगलवार १५:५१

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामाले आज मुख्यमन्त्री पदको लागि दाबी पेश गरेका छन् ।

लामाले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री पदको दाबी पेश गरेका हुन् । उनले प्रदेश प्रमुख कार्यालय पुगेर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष आफ्नो दाबी पेश गरेका हुन् ।

उनले कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ५६ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

दाबी पेश गर्ने क्रममा कांग्रेसका सांसद एवम् बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, उपनेता रामकृष्ण चित्रकार, एमाले संसदीय दल नेता जगन्नाथ थपलिया, पूर्व मन्त्री केशव पोखरेल लगायत गएका थिए ।

लामालाई आजै साँझ ५ बजपछि प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।