बागमती प्रदेशः कृषि मन्त्रीद्वारा प्रगति विवरण सार्वजनिक

तु खबर संवाददाता
२०८१ श्रावण ७, सोमबार १८:४५

मकवानपुर । बागमती प्रदेश, कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्र मान श्रेष्ठले आफ्नो कार्यकालमा भएको कार्यहरुको सोमबार प्रगति विवरण सार्वजनिक गरेका छन् ।

मन्त्री श्रेष्ठले पत्रकार सम्मेलनमार्फत् आफुले सम्हालेको १४ महिनाको अवधिमा भएको प्रगति विवरण सार्वजनिक गरेका हुन् । उनले सो अवधिमा १ हप्ते लम्पी स्किन डिजिज नियन्त्रण तथा रोकथामको लागि १ हप्ते अभियान चलाइ ४८ हजार ३ सय ६४ गाईमा निःशुल्क रुपमा खोप लगाइएको जानकारी दिए ।

कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक र गैर प्राकृतिक विपद्बाट प्रभावित किसानलाई हालसम्म २ करोड ३० लाख राहत रकम ५९ हजार ८३ रुपैयाँ कृषकको खातामा पठाइसकेको पनि उल्लेख गरे ।

यस्तै, उनले भेडाबाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रणका लागि बागमती प्रदेशको १३ वटै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गरी ११ लाख ४२ हजार ३ सय २७ भेडा बाख्रालाई पिपिआर रोगविरुद्धको खोप लगाइएको बताए ।

स्थानीय तहसँगको समन्वयमा प्रदेशका २६ स्थानमा ‘एक वडा, एक पशु स्वास्थ्य क्लिनिक’ स्थापनाका लागि निमार्ण कार्य अन्तिम चरणमा रहेको बताउँदै मन्त्री श्रेष्ठले प्रदेशका ८ जिल्लाको १० स्थानमा निर्माणाधिन शीत भण्डारहरुको निमार्ण कार्य ८६ प्रतिशत सम्पन्न भएको बताए ।

त्यस्तै, हेटौंडाको तरकारी बजार निर्माणका लागि ४ करोड रकम विनियोजित गरेको बताउँदै उनले मन्त्रालयले आर्थिक वर्ष २०८१÷८२ का लागि विभिन्न कार्यक्रमहरु समेटेकोको उल्लेख गरे ।