बहादुर सिंह लामालाई मुख्यमन्त्री बनाउने कांग्रेस संसदीय दलको निर्णय
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज विहान बसेको बैठकले बहादुर सिंह लामालाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।
लामा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता हुन् । उनलाई नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनाउन संसदीय दलबाट सर्वसम्मत निर्णय भएको हो ।
त्यस्तै संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रस्ताव गरेको विश्वासको मतको विपक्षमा मतदान गर्ने समेत निर्णय गरेको छ । यता नेकपा एमालेले पनि विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ ।
मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारले विश्वासको मत नपाउने निश्चित देखिएको छ । कांग्रेसका लामाले एमालेको समर्थनमा आजै मुख्यमन्त्रीको दावी पेस गर्ने तयारी गरेका छन् ।
