बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा लालीगुराँस सहकारीका ४ जना पक्राउ

तु खबर संवाददाता
२०८१ असार १६, आईतवार १४:५९

काठमाडौँ । बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ परेका छन् ।

अध्यक्ष अमरदास श्रेष्ठ, सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

ललितपुरको पुल्चोकमा रहेको उक्त सहकारीका बचतकर्ताको रकम अपचलन गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूले सहकारीका २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रकम अपचलन गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

सहकारीको सञ्चालक समिति र लेखा समितिका ९ जनालाई पक्राउ गर्न ललितपुर अदालतले अनुमति दिएपछि अहिले चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको उनले बताए ।